सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं। हामी धराने, काठमाडौंको आयोजनामा काठमाडौंमा शनिबार हरितालिका तीज २०८१ शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
सुनसरीको धरान घर भई अहिले काठमाडौ उपत्यकामा बस्दै आएकाहरुको लागि हामी धराने काठमाडौँले अघिल्लो बर्ष झैँ यो बर्ष पनि भदौ ८ गते शनिबार विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन्।
काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तीज कार्यक्रममा उल्लेखनीय रुपमा मानिसको उपस्थिति रहेको आयोजक ईशा अधिकारीले बताइन् ।
‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने माध्यमको रुपमा यो कार्यक्रमलाई लिएका छौं’ अधिकारीले भनिन् ।
श्री शारदा बालिका स्कुलको पूर्व प्रधानाध्यापक नारायणदेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा, हामी धराने, काठमाडौंका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक शशि शर्मा पौडेल रहेका थिए ।
कार्यक्रममा धरानको प्रतिनिधित्व गर्नुहुने महिलाहरु बरिष्ठ चिकित्सक डा. छत्र अमात्य, उप-सचिव डा. बालकुमारी शर्मा, बरिष्ठ पुस्ताकलायाध्य्क्ष सीता शर्मा, कवियत्री सविता श्रेष्ठ बेहोसी, राष्ट्रिय टेबुल टेनिस खेलाडी स्वेच्छा नेम्वाङ, गायिका मथुरा श्रेष्ठ, गायिका रमना श्रेष्ठ, गायिका प्राश्ना शाक्यलगायतलाई सम्मान गरिएको थियो।
बिनोद श्रेष्ठ तखाछेंले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रम संचालन गर्ने क्रममा उनले हाल केही महिनादेखि धरानका प्रायःजसो पसलहरुमा बोनी समेत नभएको अवस्थाबारे केही व्यापारी साथीहरूबाट जानकारी प्राप्त भएको हुदा, धरानको व्यापार व्यवसायलाई केही हदसम्म भएपनि हाम्रो तर्फबाट केही टेवा पुर्याउन सकिन्छ कि भनेर कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई यसपालि दशै मनाउन धरान घर जानेहरुलाई दशैको किनमेल धरान मै गरिदिनु हुन सबैमा अनुरोध समेत गरेका थिए।