अमेरिका । अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ। ह्युस्टन प्रहरीका अनुसार गोली लागि मृत्यु हुनेमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे रहेकी छन्।
सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन्। प्रहरी अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेको बताइएको छ।
पाण्डेको शव वेस्ट एयरपोर्ट बुलेभार्डमा फेला पारेको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
हालसम्म संदिग्धको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।
नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । ३ वर्षअघि सन् २०२१ मा अध्ययनका लागि पाण्डे अमेरिका आएकी थिइन् ।
मुनाकी आमा एकल महिला अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाई छोरीलाई न्याय दिन आग्रह गरेकी छन्।