नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामूहिक दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन ।
प्रवासमा रहेका महिला दिदीबहिनीहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोले दरखाने कार्यक्रम आयोजना गरेको हो।
शनिबार सांझ ५ बजेदेखि राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधि बुद्धिजीवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजु भाइहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धन पौडेलले उपस्थित सबैलाई स्वागत गरेकी थिईन । त्यसैगरी उनले संस्था स्थापनाको उद्धेश्य र क्रियाकलापबारे प्रकाश पारेकी थिईन् । उनले यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बालबालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचाहन गराउन सहयोग पुग्ने बताउदै कार्यक्रम सफल बनाउन तन मन र धनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघ संस्था तथा दाताहरुको नाम संस्थाका कोषाध्यक्ष पुष्पा पौडेलले पढेर सुनाएकी थिइन ।
सन् २०१७ देखी कोलाराडोका दिदीबहिनीहरु संगठित भएर बिभिन्न सामाजिक, सांस्कृतिक, आवश्यकता अनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण, तथा महिला हकहित जस्ता सामाजिक कार्यका लागि निरन्तर अग्रसर हुदै अ।एको सिष्टर्स ग्रुप दिदीबहिनी समूह औपचारिक रुपमा दर्ता भई ५०१(सी) समेत प्राप्त गरिसकेको संस्था हो ।
दरखाने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिट्टा समेत राखिएको थियो । जसमा राफल चिट्टा प्राप्तगर्ने दिदीबहिनीलाई साडी स्वास्थ्य सामग्री तथा श्रृंगारका सामानहरू पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित दिदीबहिनीहरुले तिजका गीत गाउदै, नाचगान गर्दै दिदीबदिनीहरु आफैले तयार पारेको सेलरोटी, खिर, दहिलगायतका स्वादिष्ट भोजनहरु खादै एक आपसमा शुभकामना साटासाट गरि तिज मनाएका थिए ।