कोलोराडोमा सामूहिक पूजा नाचगानका साथ तिज सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका। नारीहरुको महान चाड तीजको पावन अवसरमा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकै ठाउमा भेला भई सामूहिक पूजा गरी तिज मनाएका छन् ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, हिन्दु सनातन मन्दिर डेनभर, सनातन मन्दिर सेन्टेनियललगायतका स्थानमा आरध्य देव शिव र पार्वतीको पूजा, आरधाना तथा नाचगान गर्दै भव्यताका साथ तिज मनाइएका हुन् ।

कोलोराडोमा सक्रिय संस्था सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोको आयोजनामा महिला दिदीबहिनीहरु नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा जम्मा भई बिधीपूर्वक शिव पार्वतीको आराधना तथा नाचगान गर्दै तिज मनाएका हुन् ।

तीजको पूजा लगाउन चाहने दिदीबहिनीहरुलाई सरल र सहज रुपमा पूजामा सहभागी गराउन सकियोस् र नेपाली सांस्कृतिक केन्द्र भवन हामी सबैको साझा हो भन्ने भावनाको बिकास गर्न सकियोस् भन्ने उद्धेश्यले सांस्कृतिक केन्द्रमा सामूहिक पूजाको आयोजना गरिएको सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडो अध्यक्ष धन पौडेले बताएकी छिन् ।

बिहान ९ बजेदेखि दिउंसो ३ बजेसम्म संचालित पूजा पण्डित चिरिन्जीवी पौडेलले हिन्दु धर्म संस्कृति अनुसार संचालन गरेका थिए । तीज पुजा सफलताका साथ सम्पन्न गराउन नेपाली घर, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपाल, सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोकालगायत संघ संस्थाका पदाधिकारीहरु भोलेन्टिरका रुपमा कार्यक्रम स्थलमा खटेका थिए ।

कार्यक्रममा सिष्टर्स ग्रुप दिदीबहिनी समूह कोलोराडोका उपाध्यक्ष तथा समाजसेवी शान्ति भुषालले उपस्थित दिदी बहिनीहरुलाई स्वागत गरेकी थिईन । सोही समारोहमा उनले गत एकादशीमा तुलसीको बिरुवा बितरणबाट सहयोग स्वरुप संकलित ६ सय डलर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ नेपाली घरका अध्यक्ष बसन्त लम्साललाई हस्तान्तरण गरी यदी भित्री मनदेखि सहयोग गर्ने चाहना भए बिभिन्न माध्यमबाट सहयोग संकलन गर्न सकिन्छ भन्ने राम्रो उदाहरण प्रश्तुत गरेकी छिन् । त्यस्तै तिजपुजामा सहभागी दिदीबहिनीबाट सौभाग्यका सामग्री लगायतका सामान प्रयोग गरेबापत सहयोग स्वरूप संकलन गरिएको रकमबाट खर्च कटाएर बांकी रहेको रकम नेपाली सांस्कृतिकलाई हस्तान्तरण गरिने योजना रहेको अध्यक्ष पौडेलले बताएकी छन् ।

त्यसैगरी नेपाली घरका अध्यक्ष बसन्त लम्सालले यो नेपाली सांस्कृतिक केन्द्र तपाई हामी सबैको साझा सम्पत्ति भन्दै कार्यक्रममा उपस्थित भई तिजपुजा सम्पन्न गरेकोमा सबै दिदी बहिनीहरुलाई तिजको शुभकामनासंगै धन्यवाद दिएका थिए । उनले यस केन्द्रलाई पूर्ण रुपमा संचालनमा ल्याई निरन्तरता दिन सबैको सहयोग आवश्यक भएकोले उपस्थित सबै दिदी बहिनीहरुलाई यथासक्य सहयोग गरी यस महाअभियानमा जोडिन अनुरोध गरेका थिए ।





Comments

comments

125987