कोलोराडोमा पहिलोपटक कुमारी रथ तान्दै इन्द्रजात्रा भव्यरूपमा सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-

कोलोराडो, अमेरिका, २३ सेप्टेम्बर। नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म, संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको इन्द्रजात्रा भव्य रूपमा सम्पन्न भएको छ।

कोलोराडो नेवाः खलःको आयोजनामा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्दै नेवाः समुदायले मनाउने येंयाः नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङ्गणमा कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा, धिमे नाच, लाखे नाचका साथ भव्यरूपमा सम्पन्न भएको हो।

जात्रा गणेश, कुमारी, आकाश भैरवको विधिपूर्वक पूजा अर्चना गरेर शुरु गरिएको थियो। रथयात्रापछि तीन जीवित देवी देवताहरूलाई स्वागत द्वार हुँदै धिमेबाजाका साथ मञ्चमा आसीन गराइ कार्यक्रम अगाडि बढाइएको थियो। नेवारी राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा कोलोराडो नेवाः खलःका अध्यक्ष भूषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए। त्यस्तै कलाकार दिदीबहिनीहरूले नेवारी गीत संगीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार, नेपालीभाषी बाबाआमा दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। अधिकांश नेवाः समुदायका दाजुभाइ दिदीबहिनीहरू नेवाः समुदायको परम्परागत पहिरनमा सजिएर कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रम हेरिरहँदा आफूलाई बसन्तपुर डबलीमा बसेर कार्यक्रम हेरेको भान हुन्थ्यो।

कार्यक्रममा कुमारी रथ निर्माण कार्यमा अहोरात्र खटिएर रथ तयार पार्नुहुने महानुभावहरूलाई वरिष्ठ कलाकार हिरण्य भोजपुरे, समाजसेवी नारायण श्रेष्ठ र नेवाः खलका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए। त्यसैगरी कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका वरिष्ठ कलाकारहरू कृष्ण मल्ल र शर्मिला मल्लको पनि उपस्थिति रहेको थियो।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रम रमिता तुलाधर र सबिता श्रेष्ठले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रमको अन्तमा सहभागी सबैलाई प्रसाद स्वरूप समेवजी वितरण गरिएको थियो।

इन्द्रजात्रा काठमाडौं, भक्तपुर, ललितपुर लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो ध्वजा स्थापना हो। मठैमठ र मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल मानिन्छ। जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरु भई मङ्गल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ।

आफ्नी आमा वसुन्धराको व्रत निम्ति स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा उनलाई चोर भनी डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाउने गरिन्छ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगिन् भन्ने कथन अझै नेवाः समुदायमा जीवितै छ।

यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। काठमाडौंमा मजिपा लाखे नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी प्रदर्शन गरिन्छ भने भक्तपुरमा महाकाली नाच, दशअवतार नाच नचाउने गरिन्छ।





Comments

comments

126339