हङकङमा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न

हङकङ, सहारा क्लब हङकङले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो बिल तामाङ स्मृति सहारा कप हङकङ ६-ए साइड फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।

यस प्रतियोगितामा हङकङका विभिन्न १६ क्लबहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको उपाधि जोर्डन एफसीले हात पार्यो भने मोना एफसी उपविजेता बन्यो। विजेता र उपविजेताले क्रमशः हङकङ डलर २० हजार र १२ हजार नगद पुरस्कारका साथै शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरे।

क्लबका प्रमुख सलाहकार दुर्गा गुरुङ (एनजी) ले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। यस अवसरमा फुटबल खेलमा लामो समयसम्म योगदान दिएका पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङलाई विशेष सम्मान गरियो। फाइनल खेलमा प्रमुख अतिथि वर्ल्ड राइजका संस्थापक तथा ग्रेन मास्टर तुलसीकुमार गुरुङले विजय गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे।

प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि गुरुङका साथै एनआरएनए हङकङका अध्यक्ष र नेपाली महासंघका अध्यक्ष लगायतले पुरस्कार वितरण गरे। प्रतियोगिता सुरु हुनुअघि स्वर्गीय बिल तामाङ र हालै दिवंगत हुनुभएका सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

सम्बन्धित समाचारः
हङकङबाट नेपाल गएका फुटबलर बिल तामाङको कोरोनाबाट मृत्यु





Comments

comments

126430