पुम्दी–भुम्दी प्रथम पर्वतीय दौडमा तीन राष्ट्रका १०४ धावक सहभागी हुने

पोखरा, १० असोज । ‘खेल पर्यटन प्रवर्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ पोखरा क्लिक अनलाइन सञ्चारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ।

यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा तीन देश (नेपाल, बेलायत र ब्राजिल) का ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन्। तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र सबैभन्दा कान्छो ९ वर्षीय बालक समेत सहभागी छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालिका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबैजनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे। विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किलोमिटर लामो उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी चार इभेन्ट समावेश गरिएको उनले बताए।

खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। महिला धावक र यू–१६ बालबालिका तथा पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पुर्‍याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ प्रदान गरिनेछ।

विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित यस प्रतियोगिताले पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार गर्नुका साथै पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने आयोजकको विश्वास छ।

पत्रकार सम्मेलनमा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्र्याक मर्मत गरिएको जानकारी दिए। उनले आफ्नो वडामा पोखरा क्लिकले प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए। सो क्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष गोविन्द सुवेदी र पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए।

पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन पत्रकार एवं साहित्यकार असफल गौतमले गरेका थिए। प्रतियोगिता सम्पन्न गर्न विभिन्न नौ उपसमिति गठन गरिएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका छन्।

पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवर्धक रहेको उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२ वडा कार्यालय, पोखरा ३, वडा ६, वडा ८ र वडा १७ वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्री आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपर मार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तूप समिति, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुम्र्याङ रेष्टुरेण्ट, एस.के. साउण्ड एण्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोर्टस्, टाइगर ग्रुप अफ पोखरा, होटल वाराही, सेमियोग टुरिष्ट रिसोर्ट, युआरएल, लक्ष्मी हाउस, पुइमे फास्टफुड, लेकसाइड होटेलियर्स क्लब, होटल मुस्ताङ लेते एण्ड थकाली, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतको सहयोग रहेको छ।





Comments

comments

126441