कलिवुड नाइट २०२४ मा नेपाली संस्कृतिको उत्कृष्ट प्रस्तुति (फोटो फिचरसहित)

विजय थापा –

डिसी महानगर क्षेत्र । कलिवुड नाइट २०२४ कार्यक्रम शनिबार डिसी महानगर क्षेत्रमा अत्यन्त सफलतापूर्वक सम्पन्न भयो। केसी डान्स सेन्टरद्वारा आयोजित यस कार्यक्रमले दर्शकहरूबाट अपार प्रशंसा र सराहना प्राप्त गर्‍यो। बालबालिकाको अद्वितीय प्रस्तुतिको दर्शकद्वारा मुक्त कण्ठले प्रशंसा गरिएको छ। लोक दोहरी गायक भगवान भण्डारी र गायिका कल्पना दाहालको प्रस्तुतिले विशेष ध्यान खिचेको थियो।

दर्शकहरूले यस वर्षको कलिवुड नाइट २०२४ लाई विगतका वर्षहरू भन्दा अझ उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्। पहिलो पटक प्रत्यक्ष लोक दोहोरीको आयोजना गरिएकोले दर्शकलाई थप मनोरञ्जन प्राप्त भएको बताइएको छ। भगवान भण्डारी र कल्पना दाहालको प्रस्तुतिले सुनमा सुगन्ध ल्याएको दर्शकहरूको प्रतिक्रिया रहेको छ।

अधिकांश दर्शकहरूले कार्यक्रमलाई व्यावसायिक, परिस्कृत र उत्कृष्ट बताउँदै आगामी वर्षहरूमा पनि सहभागिता जनाउने इच्छा व्यक्त गरेका छन्। बालबालिकाको प्रस्तुतीको प्रशंसा गर्दै, केसी डान्स सेन्टरले यसलाई निरन्तरता दिनु पर्ने सुझाव दिएका छन्।

कार्यक्रममा उपस्थित दर्शकहरू अत्यन्तै हर्षित र गदगद देखिन्थे। धेरै दर्शकहरूले अमेरिकामा यस्ता प्रस्तुति पहिले कहिल्यै नहेकोमा गर्वको महसुस गरेका थिए।

यस वर्षको कार्यक्रमले ७-८ दर्जन भन्दा बढी अमेरिकामा जन्मेका बालबालिकाहरूको प्रस्तुति समेटेको थियो, जसले करिब ६ महिना अगाडिदेखि अभ्यास गरेर आत्मविश्वासका साथ प्रस्तुत गरेका थिए।

कार्यक्रमको शुभारम्भमा दुर्गा स्तुति सामूहिक प्रस्तुति सर्वोत्कृष्ट रहेको थियो। ३ घण्टासम्म चलेको उक्त कार्यकममा दर्शकहरूले बेजोड प्रस्तुति देखेर ताली बजाएर सम्मान गरेका थिए।

कार्यक्रमको सञ्चालन परशु तिमिल्सिना लगायत दोश्रो पुस्ताका किशोरीहरूले गरेका थिए। केसी डान्स सेन्टरका संस्थापक नविन केसी र लुना श्रेष्ठले पनि बेजोड नृत्य प्रस्तुति दिएका थिए।

समग्रमा, कलिवुड नाइट २०२४ ले अमेरिकामा रहेका नेपाली समुदाय र सम्पूर्ण संघ/संस्थाहरूलाई राम्रो पाठ सिकाएको छ।

थप फोटोहरु यहाँ हेर्नुहोस्





Comments

comments

126518