पूर्वबाट फेरि मौसम बदली सुरु

काठमाडौँ । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेस प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भने, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ भने मधेस, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ । तर ठुलो अनि लगातारको वर्षा भने नहुने उनले बताए।

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताए । आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेस प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ । रासस





Comments

comments

126570