नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिरोबाट प्रभावित नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सरकारसँग माग गरेको छ ।

रास्वपाको उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोरप्रसाद अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आज ध्यानार्कषणपत्र बुझाउँदै अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’को विकल्पबारे अवगत गराएका हुन् ।

प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै सांसद अर्यालले तत्काल सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन आग्रह गरे ।

“यी क्षेत्रमा मोबाइलको नेटवर्क नचल्ने समस्या भएकाले यात्रुहरू आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा छन्”, ध्यानार्कषणपत्रमा भनिएको छ, “यसका लागि तुरुन्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ ।” रासस





Comments

comments

126670