विजय थापा –
अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा आयोजना गरिएको दशैं तिहार महोत्सव २०२४ भव्यताको साथ सम्पन्न भएको छ। महोत्सव ऐतिहासिक रुपमा सफलता हासिल गर्न सफल भएको छ। उक्त कार्यक्रम भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा भएको थियो।
गत अक्टोबर ५ शनिबारका दिन सम्पन्न कार्यक्रममा मौसमले पुरै साथ दिएको थियो। बिगत केही दिनदेखि झरी र घाम नदेखिएको अवस्थामा, शनिबार बिहानैदेखि सूर्य देखिएको र दिनभरि अत्यन्त राम्रो मौसमले दर्शकहरुको भिडलाई आकर्षित गर्यो। साँझ परेपछि अलिकति चिसो भएता पनि दर्शकहरुले अन्तिम समयसम्म आफ्ना प्रिय कलाकारहरुलाई साथ दिएका थिए।
उक्त कार्यक्रममा सबैका प्रिय गायक प्रमोद खरेल मुख्य आकर्षणका केन्द्रमा थिए। उनले आधा दर्जनभन्दा बढी आफ्ना कालजयी र प्रसिद्ध गीत प्रस्तुत गरे। दर्शकहरुले पनि सबै गीतमा स्वरमा स्वर मिलाई साथ दिएका थिए। प्रमोदले चर्चित गीतहरु जस्तै “झ्यालबाट हेर”, “झुमा झुमा”, र “म बिना कसैलाई” गाएका थिए।
यस्तै, मिलन नेवारको दमदार प्रस्तुति पनि रहेको थियो, जसमा उनले आफ्ना चर्चित गीतहरु फुलबुट्टे सारी लगायत प्रस्तुत गरे। लोकप्रिय गायिका अन्जु पन्तले पनि “सुर्के थैली” र “नबिर्से तिमीलाई” जस्ता गीतहरु गाइन्।
अन्तिम प्रस्तुतिमा निमा रुम्बा आफ्नो ब्याण्डसहित उत्रिए र उनले नयाँ र पुराना कालजयी गीतहरु प्रस्तुत गरे।
मुख्य सांगीतिक प्रस्तुति ६ बजेपछि गरिए पनि दिउँसो १२:३० बजे देखि स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति गरेका थिए। महोत्सवमा चङ्गा उत्सव पनि मनाईएको थियो, जसमा बालबालिका र वयस्कहरुले चङ्गा उडाएका थिए।
दशैं तिहार महोत्सव २०२४ वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली समुदाय र नेपाली संस्कृति मन पराउने विदेशीलाई लक्षित गरी आयोजना गरिएको हो। महोत्सवमा दशैं बजार, नेपाली खानाका परिकार, सेलरोटी, गहना पसल र लुगा लगायतका प्रदर्शनी कक्षहरु रहेका थिए।
कार्यक्रमको मुख्य प्रायोजक अनेष्ट रियल स्टेटले गरेको थियो भने संचालक अन्जना बुढाथोकीले सबैलाई धन्यबाद दिएकी थिइन्। महोत्सव थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको थियो र भाग्यशाली चिट्ठा बिजेताहरुको घोषणा पनि गरिएको थियो।
थप फोटोहरू यहाँ हेर्नुहोस्: