एनआरएनएद्वारा प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख सहयोग

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज बुधवार ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहमा संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले यो रकम प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो।

समारोहमा बोल्दै अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानको समाचारले आफूहरू अत्यन्त दुःखित भएको बताउँदै संघको तर्फबाट एक करोड रुपैयाँ बराबरको राहत उपलब्ध गराइएको र यो सहयोग निरन्तर जारी रहने जानकारी दिनुभयो। उहाँले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि पनि आर्थिक र सामाजिक क्षेत्रमा यसको प्रयोगमा केही समस्याहरू रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई यस विषयमा आवश्यक निर्देशन दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

डा. केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको समान पेन्सन र अधिकारको मागलाई सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद आवश्यक रहेको कुरामा जोड दिनुभयो। साथै, उहाँले प्रधानमन्त्री ओलीलाई आगामी २७ र २८ अक्टोबरमा आयोजना हुन लागेको एनआरएन डे विशेष कार्यक्रम तथा ग्लोबल कन्क्लेभमा सहभागी हुन निमन्त्रणा पनि दिनुभयो।

प्रधानमन्त्री ओलीले विपद्को समयमा गरिएको मानवीय सहयोगका लागि संघलाई धन्यवाद दिँदै एक पटकको नेपाली सधैंको नेपाली हुने भावना व्यक्त गर्नुभयो। उहाँले संविधानले दिएको राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन कुनै समस्या नभए पनि दोहोरो नागरिकताको समस्या समाधानका लागि गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले भूपू गोर्खाहरूको समस्या समाधानका लागि सरकार सचेत रहेको जानकारी दिनुभयो। उहाँले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीहरूको साझा संस्थाका रूपमा अघि बढाउन सुझाव दिनुभयो।





Comments

comments

126793