अमेरिकामा नेपाली चाड तिहारलाई आधिकारिक मान्यता

विजय थापा –
अमेरिकाको नर्थ क्यारोलाइना राज्यको गीलफर्ड काउन्टीले नेपालीहरूको महत्वपूर्ण चाड तिहारलाई आधिकारिक मान्यता दिएको छ। यो निर्णयले त्यहाँ बसोबास गर्ने नेपाली समुदायमा उल्लास छाएको छ।

गत बिहीबार आयोजित एक विशेष कार्यक्रममा गीलफर्ड काउन्टीका आयुक्तहरूले नेपाली समुदायको दोस्रो ठूलो चाड दीपावली (तिहार) लाई मुख्य पर्वको रूपमा मान्यता दिने घोषणा गरेका छन्। यस वर्ष तिहार अक्टोबर २८ देखि नोभेम्बर २ सम्म मनाइने जनाइएको छ।

गीलफर्ड काउन्टीका आयुक्त ब्रान्डन ग्रेका अनुसार, दशैँ र तिहारमा नेपालीहरूलाई बिदा दिने विषयमा पनि छलफल भएको छ। तर, सार्वजनिक बिदाको निर्णय काउन्टीको अधिकार क्षेत्रभन्दा बाहिर भएकोले यो मुद्दा नर्थ क्यारोलाइनाको राज्य संसदमा पठाइने भएको छ।

यो निर्णय नेपलिज् स्टुडेन्ट एसोसिएसन यूएनसी र गीलफर्ड काउन्टी डेमोक्रेटिक पार्टीका उपाध्यक्ष विनय अर्यालको संयुक्त प्रयासको फलस्वरूप सम्भव भएको हो। कार्यक्रममा नेपलिज् स्टुडेन्ट एसोसिएसन यूएनसीका अध्यक्ष बिनित अर्यालले नेपाली समुदायको तर्फबाट गीलफर्ड काउन्टीलाई धन्यवाद दिए।

यो निर्णयले स्थानीय तहमा नेपाली समुदायलाई आफ्नो पर्व मनाउन सहज वातावरण सिर्जना गर्नुका साथै केही स्थानहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ। नर्थ क्यारोलाइनामा बसोबास गर्ने नेपाली समुदायले यस निर्णयलाई उत्साहपूर्वक स्वागत गरेका छन्, र यसलाई आफ्नो संस्कृति र पहिचानको मान्यताको रूपमा हेरेका छन्।





Comments

comments

127115