रवि लामिछानेले कति दिन हिरासतमा बस्नु पर्छ?

Photo: Phulbari News

काठमाडौं – कास्की प्रहरीले रवि लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। उनीमाथि सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको आरोप लागेको छ। प्रहरीले उनीविरुद्ध सङ्गठित अपराधमा समेत अनुसन्धान गरिरहेको जनाएको छ। यसको अर्थ प्रहरीले अदालतबाट म्याद थप गर्दै तीन महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

बीबीसी न्यूज नेपालीका अनुसार गोरखा मिडिया नेटवर्क प्रालिसँग जोडिएका अन्य सहकारी संस्थाहरूको बचत अपचलनको अभियोगमा पनि लामिछानेमाथि अनुसन्धान हुन सक्ने सम्भावना रहेको छ। संसदीय छानबिन समितिको प्रतिवेदनले बुटवलको सुप्रिम सहकारी संस्था, वीरगन्जको सानो पाइला, चितवनको सहारा, नेपालगन्जको समानता र काठमाण्डूको स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पनि गोरखा मिडियामा ऋण प्रवाह भएको औँल्याएको छ।

नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक हेमन्त मल्लका अनुसार अनुसन्धानका क्रममा अन्य जिल्लाका सहकारी संस्थाको बचत अपचलनमा संलग्नता देखिए ती जिल्लामा लामिछानेलाई फेरि हिरासतमा राखेर अनुसन्धान हुन सक्छ। यसले गर्दा लामिछाने लामो समयसम्म हिरासत वा थुनामा रहनुपर्ने अवस्था आउन सक्ने सम्भावना रहेको छ।

यसैबीच, पोखरामा रवि लामिछानेका समर्थकहरूले लगातार तीन दिनदेखि प्रदर्शन गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले लामिछाने निर्दोष रहेको दाबी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। अर्कोतर्फ, सहकारी पीडितहरूले पनि आफ्नो पैसा फिर्ता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन्।

सहकारी पीडितहरूले सरकारले जीबी राईजस्ता सञ्चालकको सम्पत्ति बिक्री गरेर वा सरकारी कोषबाट भए पनि आफ्नो रकम फिर्ता दिनुपर्ने माग गरेका छन्। उनीहरूले नियमनकारी निकायलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। यस घटनाले नेपालमा सहकारी क्षेत्रको नियमन र व्यवस्थापनमा गम्भीर समस्या रहेको देखाएको छ।





Comments

comments

127172