नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। हिन्दूहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायले शनिबार साँझ एक सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरेका छन्।
नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा तथा स्थानीय संघ संस्थाहरुको सहभागितामा दशैं–तिहार शुभकामना सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको छ।
रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठको प्रमुख आतिथ्यता र अन्तर्राष्ट्रिय ज्योतिषी, मुखाकृति विशेषज्ञ तथा उपचारक भिहंगम राज तिमिल्सिनाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। गायक गायिकाहरू क्विन्सी चेत, सञ्जना पाण्डे, मनोजराज सिवाकोटी लगायत अन्य कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू दिएर महान चाडको उत्सव मनाएका छन्।
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर तथा कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिबाट संयुक्तरूपमा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गण्यमान्य, व्यवसायी, बुद्धिजीवी, कलाकार, साहित्यकार, पत्रकार, तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदीबहिनीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
त्यसैगरी सोही कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा हालै नेपाल प्रज्ञा प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिने प्रज्ञा अन्तरदेशीय पुरस्कार २०८० बाट सम्मानित हुनुभएको भन्दै बधाई सहित सम्मान गरिएको थियो।
आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति अर्जुन बगालेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कोलोराडोमा नेपाली समुदायको जेठो यस संस्थाले स्थापना कालदेखि हालसम्म नेपाली भाषा, संस्कृति संरक्षण र पहिचानमा निरन्तरता दिँदै आइरहेको बताए। उनले यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै दशैं, तिहार, छठ लगायत सम्पूर्ण चाडपर्वको शुभकामना दिए। सोही मञ्चमा आयोजक संस्थाका पदाधिकारीहरूले देउसी भैलो खेली नेपाली संस्कृतिको पहिचान गराए।
कार्यक्रमको दोस्रो चरणमा सांगीतिक कार्यक्रम सञ्चालन भएको थियो। जसमा क्विन्सी चेत, सञ्जना पाण्डे, मनोजराज सिवाकोटी लगायतका कलाकारहरूले लोकप्रिय गीतहरू गाएर दर्शकहरूलाई नचाए। स्थानीय बाल कलाकारहरूले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरे। गायक मनिष विश्वकर्माले पनि विभिन्न चर्चित गीतहरू गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भए।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने दाता, कार्यक्रममा उपस्थित भई आफ्नो कला प्रस्तुत गर्नुहुने गायक गायिका तथा कुशल नृत्य प्रस्तुत गर्ने बाल कलाकारहरूलाई आयोजक समितिका पदाधिकारी तथा गण्यमान्यहरूबाट खादा लगाइदिई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रम संस्थाका महासचिव आकृति राई अधिकारी र कल्चर सेक्रेटरी निशा पाठकद्वारा कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिएको थियो।