न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३० अक्टोबर। हङकङको एक पार्कमा मृत फेला परेकी २५ वर्षीया विदेशी घरेलु कामदारको हत्या गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पोक फु लाम क्षेत्रको वाटरफल बे पार्कमा सोमबार बिहान महिलाको शव फेला परेको थियो।
हङकङ द्वीप क्षेत्रीय अपराध एकाइका प्रमुख सिन क्वोक-मिङका अनुसार, दक्षिणपूर्वी एसियाली पीडितलाई कडा वस्तुले हिर्काएर डुबाएर मारेको विश्वास गरिएको छ।
सिनले बताए अनुसार, पीडितको निधार र टाउकोको पछाडि दुईदेखि चार सेन्टिमिटरसम्मका चोटहरू र हात-खुट्टामा घाउहरू फेला परेका थिए।
हङकङ परिचयपत्र वाहक ३४ वर्षीय विदेशी नागरिकलाई हत्याको आरोपमा पक्राउ गरिएको छ। उनकी ३६ वर्षीया स्थानीय पत्नीलाई अपराधीलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले पुरुष संदिग्ध आइतबार राति करिब ११ बजे पीडितसँग घटनास्थलमा गएको र त्यहाँ करिब ३० देखि ४० मिनेट बसेर एक्लै ट्याक्सीमा हतार-हतार भागेको देखाएको छ।
सिनले भने कि पुरुष संदिग्धलाई लक्षित गरेपछि, अनुसन्धानकर्ताहरूले आप लेई चाउमा रहेको दम्पतीको घरमा छापा मारे तर उनीहरू मुख्य भूमि चीन गइसकेका थिए।
तर उनीहरू मंगलबार साँझ करिब ५ बजे हङकङ फर्किँदा वेस्ट कोवलुनको हाई-स्पीड रेलवे स्टेशनमा पक्राउ परेका थिए।
सम्बन्धित समाचारः
झरनाको फेदमा फेला परेको शव फिलिपिनो महिलाको हुनसक्ने..