कोलोराडोमा खेलिएको देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ शुक्रबार साँझ सम्पन्न देउसी भैलो कार्यक्रमबाट झण्डै १६ हजार डलर संकलन भएको छ।

नेपाली सांस्कृतिक केन्द्र भवनमा खेलिएको देउसी भैलोबाट ७ हजार ३ सय ७९ र अरोरामा सम्पन्न देउसी भैलो कार्यक्रमबाट ८ हजार ३ सय ५० गरी जम्मा १५ हजार ७ सय २९ डलर संकलन गरिएको हो।

कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरूको सहयोगमा देउसी भैलो सम्पन्न भएको हो। कार्यक्रमबाट संकलन गरिएको रकम खर्च कटाएर बाँकी नेपाली घरको खातामा जम्मा गरिने नेपाली घरका अध्यक्ष बसन्त लामिछानेले बताएका छन्।

नेपाली सांस्कृतिक केन्द्र भवनमा सम्पन्न देउसी भैलोको संयोजन समाजसेवी शान्ति भुषालले गरेकी थिइन्। वयोवृद्ध आमा जानुका कार्कीद्वारा पानसमा बत्ती बालेर शुरु गरिएको कार्यक्रममा लोक गायक महेश बुढाथोकी, लेखक तथा साहित्यकार श्रीप्रसाद पोखरेल लगायत नेपालीभाषी बा आमा दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

देउसी भैलो कार्यक्रमका संयोजक शान्ति भुषालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेकी थिइन्। कार्यक्रममा महेश बुढाथोकी, दिनेशकुमार कार्की लगायतका कलाकारहरूले गीत गाएका थिए भने बालबालिकाहरूले नेपाली संगीतमा कुशल नृत्य प्रदर्शन गरी दर्शक श्रोताको मन जित्न सफल भएका थिए। कार्यक्रम नेपाली घरका महासचिव भोला कटुवाल र इभेन्ट अफिसर दिनेशकुमार कार्कीले संयुक्त रूपमा सञ्चालन गरेका थिए।

अरोरा सेन्टिनेलमा आयोजित देउसी भैलो कार्यक्रम समाजसेवी कुमारजंग कार्कीको संयोजनमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वयोवृद्ध समाजसेवी तथा नेपाली घरका सल्लाहकार रामप्रसाद श्रेष्ठले पानसमा बत्ती बालेर गरेका थिए। संयोजक कार्कीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए। अरोरा सेन्टिनेल नेपाली भाषी समुदायका निवर्तमान संयोजक नवराज न्यौपानेले समारोहमा उपस्थित सबैलाई र कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरूलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा सनातन वैदिक शास्त्रका ज्ञाता, ज्योतिष तथा तान्त्रिक विद्याका पारंगत दश महाविद्याका विशेषज्ञ पण्डित विहंगमराज तिमिल्सिनालाई कार्यक्रमका विशेष अतिथि डा. जगदीश बरालले मायाँको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रममा नेपालीभाषी बाआमा दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई वितरण गरिएको स्वादिष्ट खाना स्थानीय समाजसेवीहरूले निरन्तर खटेर तयार पारेको नेपाली घरका निवर्तमान अध्यक्ष जगदीश ढकालले बताएका छन्।

कार्यक्रममा दिपक गौतम लगायतका कलाकारहरूले गीत गाएका थिए भने नेपालीभाषा पाठशालाका छात्रछात्राहरूले नेपाली राष्ट्रिय गान गाएका थिए। कार्यक्रममा कलाकार भाइबहिनीहरूले सुन्दर नृत्य प्रदर्शन गरेका थिए।

नेपाली घरले स्थापना कालदेखि निरन्तर रूपमा नयाँ पुस्तालाई हाम्रो रहनसहन, भाषा, संस्कृति तथा भेषभूषाको जानकारी गराउन तथा यहाँका स्थानीय बासिन्दाहरूलाई नेपालीको भाषा र संस्कृतिको पहिचान गराउन देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ।

यस्ता कार्यक्रमले मातृभूमिप्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचान गराउँछ।

संकलित रकम समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्रको मर्मत सम्भार तथा मर्गेज तिर्न प्रयोग गरिने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्।





Comments

comments

127494