काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि डिल्लीबजार कारागार चलान गरिएको छ।
मंगलबार राजधानीको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो।
सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेको मुद्दामा उच्च अदालत पाटनको फैसला सदर गर्दै ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला कायम राखेको थियो। मनाङेले यसअघि नै साढे २ वर्ष सजाय भुक्तान गरिसकेको र अब बाँकी कैद अवधि पूरा गर्नुपर्ने बताइएको छ।
ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए। उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो। उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो। त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए।
दीपक मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो। ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो।