नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा सक्रिय नेपाली संस्था हेल्पिङ ह्यान्ड हेल्थ एडुकेशन नेपाल र नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) लाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको फन्डरेजिङ डिनर कार्यक्रममा ७८ हजार १ सय ४० अमेरिकी डलर संकलन भएको छ।
नेपाली सांस्कृतिक केन्द्र व्यवस्थापन तथा परामर्श समितिको संयोजन तथा यहाँ सक्रिय संघ संस्था, समाजसेवी, बुद्धिजीवी र व्यवसायी सबैको सक्रियतामा हालै वेस्टमिन्स्टर शहरमा सम्पन्न दोस्रो फन्डरेजिङ डिनर कार्यक्रममा उक्त रकम संकलन गरिएको हो। यसअघि गत वर्ष पनि यस्तै कार्यक्रम बोल्डरमा सम्पन्न भएको थियो।
डिनर कार्यक्रममा कांग्रेसम्यान जो नेगुसे, स्थानीय बोल्डर, ब्रुमफिल्ड, ब्राइटन शहरका मेयर, बोल्डर काउन्टी कमिश्नर, हेल्पिङ ह्यान्ड हेल्थ एजुकेशनलाई निरन्तर सहयोग गरिरहने स्थानीय समाजसेवी दाताहरू, हेल्पिङ ह्यान्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी तथा स्थानीय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, व्यवसायी, कलाकार, पत्रकार तथा नेपाली भाषी बाआमा दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा कांग्रेसम्यान जो नेगुसे लगायत सम्पूर्ण उपस्थित महानुभावहरू समक्ष नेपाली घरको इतिहास र वर्तमान अवस्थाको बारेमा नेपाली सांस्कृतिक केन्द्र व्यवस्थापन तथा परामर्श समितिका सदस्य तथा समाजसेवी नवीन दत्तले स्लाइड शो मार्फत जानकारी गराएका थिए। त्यसैगरी हेल्पिङ ह्यान्ड हेल्थ एजुकेशनको बारेमा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानकारी गराएका थिए।
कांग्रेसम्यान जो नेगुसे लगायत उपस्थित मेयर र काउन्टी कमिश्नरहरूले यस्तो गौरवमय कार्यक्रममा उपस्थित हुन पाएकोमा खुसी व्यक्त गर्दै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूले नेपाली संगीतमा कुशल नृत्य प्रदर्शन गरेका थिए।
यसरी सम्पन्न कार्यक्रममा नेपाली भाषी समुदायबाट २७ हजार ७ सय डलर प्लेज र रजिस्ट्रेशनबाट १३ हजार १५ डलर गरी जम्मा ४० हजार ७ सय १५ डलर सहयोग संकलन भएको थियो। यसैगरी स्थानीय अमेरिकी समुदायबाट ४० हजार ८ सय २५ डलर प्लेज भएकोमा हालसम्म ३० हजार ८ सय २५ डलर मात्र संकलन भएको र रजिस्ट्रेशनबाट ५ हजार ६ सय डलर गरी ३६ हजार ४ सय २५ डलर संकलन भएको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन्। यसरी संकलित सहयोग रकमबाट खर्च कटाएर दुवै संस्थाले बराबर भाग लगाउँदा ३१ हजार ६ सय ३१ डलर संस्थाहरूको खातामा जाने बताइएको छ।
यसैबीच नेपाली सांस्कृतिक केन्द्र व्यवस्थापन तथा परामर्श समितिका संयोजक डा. विजयराज शर्माको अध्यक्षतामा सोमबार सम्पन्न फन्डरेजिङ डिनरको समीक्षा बैठक सम्पन्न भयो। बैठकले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुभएका सबै संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, दाता तथा कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिएकोमा कांग्रेसम्यान जो नेगुसे, स्थानीय मेयरहरू, व्यवसायी, कलाकार, पत्रकार तथा नेपाली भाषी बाआमा दाजुभाइ दिदीबहिनीहरू सबैलाई धन्यवाद दिएको छ।
त्यसैगरी बैठकले कार्यक्रमको दौरानमा भएका साना तिना त्रुटि तथा कठिनाइबारे गम्भीर छलफल गर्दै आगामी कार्यक्रममा यसलाई सुधार्दै जाने प्रतिबद्धता जनाएको छ। साथै, कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताइएको छ।