न्युज डेस्क / एचकेनेपाल डट कम –
मकाउ, २३ नोभेम्बर। मकाउको अन्तिम अदालतले यौनकर्मीको हत्या गरेको अभियोगमा हङकङका एक डक्टरेट गरेका ४७ वर्षीय पुरुषलाई २२ वर्ष ६ महिना जेल सजाय सुनाएको छ। उनको अन्तिम अपील पनि असफल भएको छ।
गत वर्ष मार्च महिनामा मकाउमा एक स्थानीय यौनकर्मीको हत्या हथौडाले गरेको अभियोगमा मकाउको तल्लो अदालतले उनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको थियो। मध्यवर्ती अदालतमा गरिएको अपील असफल भएपछि उनले मकाउको अन्तिम अदालतमा पुनरावेदन गरेका थिए। तर हिजो २२ नोभेम्बरमा अदालतले सुनुवाई गरी सजाय अत्यधिक भएको भन्ने उनको तर्क अस्वीकार गरेको छ।
अदालतले घटनाको विवरण हेर्दा आरोपीले पूर्व योजना बनाएर लुटपाट र हत्या गरेको पाइएको छ। उनले गत वर्ष जनवरी २९ देखि नै यौनकर्मीको हत्या र लुटपाटको योजना बनाउन थालेका थिए। इन्टरनेटमा मानव शरीरका महत्वपूर्ण अंगहरू र प्रहार गर्ने तरिकाहरू खोजी गरेका थिए।
मार्च १० को साँझ हथौडा बोकेर होटल कोठामा पुगेका आरोपीले यौन व्यापार सकेपछि पीडितलाई बाथरूममा लगी हथौडाले टाउकोमा धेरै पटक प्रहार गरी हत्या गरेका थिए। त्यसपछि पीडितको मोबाइल फोन र अन्य सामानहरू लिएर फरार भएका थिए।
अदालतले यो अपराध अत्यन्त गम्भीर र योजनाबद्ध भएको ठहर गर्दै सजाय उपयुक्त भएको फैसला सुनाएको छ।