चर्चित टिकटकर गिभिना मगरलाई शोकमाथि शोक: आमाको दुर्घटनामा निधन भएपछि भाइले पनि गरे आत्महत्या.!

पोखरा । पोखरामा एक हृदयविदारक घटनाले सामाजिक सञ्जालमा चर्चित टिकटकर गिभिना मगरको परिवारलाई गहिरो शोकमा डुबाएको छ। उनकी ५५ वर्षीया आमा धनकुमारी बुढाको एक दुर्घटनामा निधन भएपछि विक्षिप्त बनेका २६ वर्षीय भाइ रामकुमार बुढाले आत्महत्या गरेका छन्।

याम्दी क्षेत्रमा जेब्रा क्रसिङमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी धनकुमारीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पुष्टि गरे।

विशेष गरी आर्थिक रूपमा विपन्न र असहाय व्यक्तिहरूलाई सहयोग गर्ने अभियानमा सक्रिय गिभिनाको परिवार मूलतः पूर्वी रुकुमको भए पनि केही समययता पोखरा-२५, याम्दीमा बसोबास गर्दै आएका थिए।

पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार, आमाको दुर्घटनापछि परिवारका सदस्यहरूलाई सम्हालेर सुत्न पठाएका रामकुमारले पछि एक्लै रहेको अवस्थामा आत्महत्या गरेका थिए। उनको शव घरमै झुन्डिएको अवस्थामा फेला परेको थियो।

यो दोहोरो त्रासदीले स्थानीय समुदाय र सामाजिक सञ्जालका प्रयोगकर्ताहरू स्तब्ध भएका छन्। गिभिनाको परिवारप्रति सहानुभूति र समवेदना व्यक्त गर्नेको संख्या बढ्दो छ।





Comments

comments

128007