कोलोराडोमा योमरी पुन्ही कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवार समुदायले आइतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाएका छन्।कोलोराडो नेवार खलःले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बालबालिकाहरूलाई योमरी संकलन गर्ने तरिका सिकाउँदै, नेवारी गीतसंगीतमा नृत्य तथा यथाशक्य दान गर्दै कार्यक्रममा उपस्थित सबैलाई योमरी वितरण गरी हर्षोल्लासका साथ उनीहरूले योमरी पुन्ही मनाएका हुन्।

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रममा कोलोराडोका विभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, कलाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गणमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

सहकाल तथा सम्पन्नताका देवता कुबेर र गणेशको पूजा गरी सुरु गरिएको कार्यक्रममा आयोजक संस्था नेवाः खलःका अध्यक्ष भूषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे चर्चा गरेका थिए। उनले यसको इतिहास कोट्याउँदै नेवाः समुदायमा यस पर्वलाई दान दिने दिनको रूपमा पनि चिनिने गरेको बताए।

अध्यक्ष श्रेष्ठले मातृभूमि नेपालको काठमाडौंमा नेवाः देय् दबू संस्थाको पहलमा नेवाः साझा भवन निर्माणको लागि सहयोगको अनुरोध भई आएकोले त्यहाँ सहयोग पठाउन आर्थिक संकलन कार्य भइरहेकोले सबैलाई यथाशक्य दान गर्न अनुरोध गरे। सबिता श्रेष्ठले सञ्चालन गरिएको कार्यक्रममा बालबालिकाहरूले घरघरमा गएर यमरी माग्ने चलन अनुसार यहाँ पनि सबै उपस्थित महानुभावहरू समक्ष गएर दान संकलन गरेका थिए।

कार्यक्रममा कलाकारहरूले नेवारी परम्परागत बाजाहरू बजाएर आफ्नो संस्कृतिको पहिचान गराएका थिए। सोही समारोहमा कोलोराडो नेवाः खलःको विभिन्न कार्यक्रममा सहयोग गर्ने बालबालिकाहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यद्वारा कार्यक्रम सफलताको लागि पठाइएको शुभकामना सन्देश सुनाइएको थियो।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पती बस्थे। उनीहरूको चर्चा संसारभर फैलिएको थियो। एक दिन कुबेरलाई पनि उनीहरू कति दानी रहेछन् भनी बुझ्न दरिद्रको भेष धारण गरी ती दम्पतीको घर गएछन्। सुचन्द्र दम्पतीले बडो श्रद्धापूर्वक भोजन गराएको देखी खुसी भई योमरीको महत्व बताएछन्। नयाँ अन्न भित्र्याएपछि भकारीमा गणेश, कुबेर र तिनका वाहन सहितको प्रतिमा बनाई तिनलाई योमरी चढाउने विधि बताएर कुबेर अन्तर्ध्यान भएछन्। त्यो दिन मंसिर शुक्ल पूर्णिमा परेको थियो। त्यसैबेलादेखि योमरी पुन्ही मनाउने चलन रहेको बताइन्छ।

मातृभूमिबाट यति टाढा रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागि नेवार समुदायले आयोजना गरेको योमरी पुन्ही कार्यक्रम प्रभावकारी थियो। कार्यक्रमको अन्त्यमा संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै मातृभूमिको रहनसहन तथा चालचलनबाट टाढा रहेका हाम्रा बालबालिकाहरूलाई यस्ता कार्यक्रमहरूमा सहभागी नगराउने हो भने हाम्रो संस्कृति यही पुस्ताबाटै लोप हुने खतरा रहेको बताएका थिए।





Comments

comments

128304