सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एउटा यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तीमा १७९ जनाको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहान ९ बजे भएको यो दुर्घटनामा १८१ यात्रु सवार थिए।
यात्रु विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदा आगलागी भएको छ। यस दुर्घटनामा १८१ यात्रुमध्ये २ जना मात्र जीवितै रहेको अधिकारीहरूले जनाएका छन्। दुर्घटनाबाट बचेका एक यात्रु र एक क्रु मेम्बर (दुवै महिला) लाई मोक्पोको अस्पतालमा उपचार गरिँदैछ।
योनहाप समाचार एजेन्सी अनुसार, जेजु एयरको उक्त विमान थाइल्याण्डको बैंककबाट फर्किंदै गर्दा अवतरणको क्रममा रनवेबाट चिप्लिएर विमानस्थलको भित्तामा ठोक्किएको थियो। विमानमा १७५ यात्रु र ६ जना क्रु मेम्बर सवार थिए।
स्थानीय टेलिभिजन च्यानलहरूले प्रसारण गरेका भिडियोहरूमा विमान ल्यान्डिङ गियर नखोलिएकै अवस्थामा अवतरण गर्न खोजेको देखिन्छ। विमान जमीनमा चिप्लिएर कंक्रिटको पर्खालमा ठोक्किएपछि विस्फोट भई आगोको लपेटामा परेको थियो।
अधिकारीहरूका अनुसार चराको ठक्करका कारण ल्यान्डिङ गियरमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु गरिएको छ।
यात्रुहरूमध्ये १७३ जना दक्षिण कोरियाली र २ जना थाई नागरिक रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ।