अछाम, कुखुराको मासु खाँदा अछाममा एक जनाको मृत्यु भएको छ। त्यस्तै तीन जना बिरामी परेका छन्।
कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।बयलास्थित तुलासिहं विकको घरमा ल्याएको कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो।
मासु खाँदा विकको घरमा थप तीन जना बिरामी भएका छन्। बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ। के, कति कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। रासस