नयाँ वर्षको पहिलो दिन हङकङमा ६ वटा सवारी साधन ठोक्किए: ३ पाकिस्तानीको मृत्यु, ४ घाइते..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ जनवरी। नयाँ वर्ष सन् २०२५ को पहिलो दिन भएको ६ वटा कार र ट्याक्सी दुर्घटनामा पाकिस्तानी परिवारका तीन सदस्यको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

यो दुर्घटना ओलम्पिक एमटीआर स्टेशन नजिकै वेस्ट काउलुन हाईवेमा बिहान १:४४ बजे भएको थियो। ३० वर्षीय एक पुरुषले चलाएको निजी कार हाईवेको तेस्रो लेनमा वेस्टर्न हार्बर क्रसिङतर्फ जाँदै थियो। प्रहरीका अनुसार उनले आफ्ना आफन्तहरूलाई कारमा लिएर हिँडेका थिए।

स्थानीय मिडियाका अनुसार, ६५ वर्षीय एक चालकले चलाएको ट्याक्सीले अचानक लेन काट्दा पाँच जना सवार निजी कारसँग ठक्कर खाएको थियो। निजी कार नियन्त्रण गुमाएर कंक्रिटको ब्यारियरमा ठोक्किएर एउटा ट्याक्सी र तीन वटा कारमा ठोक्किएको थियो।

निजी कारका चालकको घटनास्थलमै मृत्यु भएको छ भने चार यात्रीमध्ये ३३ र ३४ वर्षका दुई जनाको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। निजी कारका अन्य १९ र २३ वर्षका दुई यात्रीहरूलाई पिठ्युँमा चोट लागेको छ भने दुई ट्याक्सी यात्रीहरूलाई हात खुट्टामा चोट लागेको छ।

दुर्घटनामा संलग्न निजी कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ। इन्जिन सडकमा खसेको, कारका पार्टहरू र कारभित्रको बच्चाको स्ट्रोलर जस्ता सामानहरू चारैतिर छरिएका थिए। दुर्घटनामा संलग्न र प्रभावित ट्याक्सीहरू एक अर्कासँग ठोक्किएर पुलको छेउको कंक्रिटको ब्यारियरमा ठोक्किएर रोकिएका थिए।

अनलाइनमा सार्वजनिक कार क्यामको भिडियोमा घटना हुँदा ३ वटा निजी कारहरू सडकको किनारामा पार्क गरिएका थिए। दुर्घटनामा संलग्न गाढा रंगको निजी कार द्रुत गतिमा आएको देखिन्छ। घटनास्थलमा पुग्दा, निजी कारको दायाँ साइड सडकको बीचको कंक्रिटको बारमा ठोक्किएको, त्यसपछि आगोको झिल्का र धुवाँ निस्किएको र अन्तमा कार “तोप गोला जस्तै” हावामा उफ्रिएको देखिन्छ।

एक प्रत्यक्षदर्शीले बताए अनुसार, उनी मोटरसाइकल चलाइरहेका थिए। दुर्घटना हुनुअघि निजी कार उनको मोटरसाइकललाई उछिन्दै गएको थियो। उनको अनुमानमा कारको गति १५० देखि १६० किलोमिटर प्रति घण्टा थियो। करिब १० सेकेन्डपछि नै कार अगाडि गएर बारमा ठोक्किएर पल्टिएको र पूर्णरूपमा क्षतिग्रस्त भएको देखिएको बताए।

६५ वर्षीय ट्याक्सी चालकलाई खतरनाक ड्राइभिङका कारण मृत्यु भएको आरोपमा गिरफ्तार गरिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।





Comments

comments

128533