न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २९ जनवरी। दक्षिण कोरियाको बुसान गिम्हे विमानस्थलमा हङकङ जान लागेको एयर बुसान विमानमा आगलागी हुँदा ७ जना घाइते भएका छन्। मंगलबार राति करिब १०:१५ बजे उडान नम्बर BX391 को विमान उड्न लाग्दा विमानको पछाडि भागमा आगलागी भएको थियो।
विमानमा १६९ यात्रु, ६ क्रु मेम्बर र १ मर्मत कर्मचारी गरी कुल १७६ जना सवार थिए। सबैलाई आपतकालीन स्लाइडको प्रयोग गरी सुरक्षित निकालिएको छ। बुधवारसम्म घाइते हुनेको संख्या ७ पुगेको छ, जसमध्ये ४ जना क्रु मेम्बर छन्।
केही यात्रुहरूले क्याबिन लगेज र्याकबाट ‘क्लिक’ जस्तो आवाज आएको र केही समयपछि धुवाँ र स्पार्क देखिएको बताएका छन्। यात्रुहरूले पावर ब्याङ्क वा इलेक्ट्रोनिक उपकरणहरूमा आगो लागेको हुन सक्ने अनुमान गरेका छन्।
विमानमा १८ जना चिनियाँ नागरिक सहित १७० यात्रु र ६ क्रु मेम्बर थिए। बुसान आपतकालीन व्यवस्थापन विभागका अनुसार क्रु मेम्बरहरूले विमानको पछाडिको भागमा रहेको किचनमा लगेज र्याकबाट धुवाँ र आगो निस्केको देखेपछि तुरुन्तै कन्ट्रोल टावरलाई जानकारी गराएका थिए।
घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात मन्त्रालय र हवाई दुर्घटना अनुसन्धान समितिले संयुक्त अनुसन्धान गरिरहेको छ।