नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोबाट सञ्चालित अनलाइन मिडिया कोलोराडो खबर डटकमको प्रथम वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ।
संयुक्त राज्य अमेरिका सहित विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषीहरूलाई नेपालसँग जोडी राख्न, नेपाली भाषा, साहित्य, संस्कृति र रीतिरिवाजलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने र सत्य तथ्य समाचार तथा उपयोगी विचारलाई विभिन्न माध्यममा प्रस्तुत गर्न यो अनलाइन पोर्टल सञ्चालन भएको हो।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित कार्यक्रम स्थानीय वेस्टमिन्स्टर सिटीका मेयर न्यान्सी म्याकनाली (Nancy McNally) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कोलोराडो र कोलोराडो बाहिरका विभिन्न संघसंस्थाका प्रतिनिधि, गण्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बुवाआमा, दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वेस्टमिन्स्टर सिटीका मेयर न्यान्सी म्याकनाली (Nancy McNally) बाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै अगाडि बढाइएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, एनआरएनए एनसिसी पूर्व अध्यक्ष सुनिल शाह, अनेसास पूर्व केन्द्रीय अध्यक्ष तथा अनेसास बिओटी अध्यक्ष पदम विश्वकर्माको उपस्थिति रहेको थियो। यसैगरी समारोहमा कोलोराडो खबर डटकमका सल्लाहकार तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको उपाध्यक्ष धर्मराज श्रेष्ठ, अनेसास केन्द्रीय महासचिव राजु सिटौला, नेजाका क्षेत्रीय संयोजक रोशन अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कोलोराडो खबर डटकमको संस्थापक बासुदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोलोराडो खबर डटकमका सल्लाहकार रामचन्द्र पन्तले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै अनलाइन मिडियाको महत्व र विगत एक वर्षको अवधिमा यस मिडियाले नेपाली भाषी समुदायमाझ पुर्याएको योगदानको विस्तृत चर्चा गरेका थिए।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि वेस्टमिन्स्टर सिटीका मेयर न्यान्सी म्याकनालीले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली भाषी समुदायको जमघट भएको कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सिटीबाट सञ्चालित सामुदायिक कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन्। उनले नेपाली भाषी समुदायको हक हितका लागि सक्दो सहयोग गर्ने बताइन्।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली भाषी समुदायमा अनलाइन मिडियाहरूको महत्व र सकारात्मक परिवर्तनका लागि यसले पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए। यसैगरी कार्यक्रमका अन्य विशिष्ट अतिथि तथा अतिथिहरू सुनिल शाह, पदम विश्वकर्मा, धर्मराज श्रेष्ठ, राजु सिटौला लगायतले सम्बोधन गर्दै कोलोराडो खबरले नेपाली भाषी समुदायलाई सत्य तथ्य समाचारको माध्यमबाट सधैँ सुसूचित गराउँदै विश्वभरी छरिएर रहेका नेपालीको समेत मन जित्न सकोस् भन्ने शुभकामना दिएका थिए।
यसैगरी समारोहलाई शुभकामना मन्तव्य दिँदै नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंले नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको वर्तमान अवस्था र यसलाई स्थायित्व दिन आइपरेका चुनौति सबैसामु राखेका थिए। सोही अवसरमा एनआरएनए कोलोराडो च्याप्टर र एनआरएनए एनसीसी अमेरिकाका वर्तमान कार्यसमितिले ५ हजार डलर तथा आगामी आउने कार्यसमितिले ५ हजार डलर नेपाली सांस्कृतिक केन्द्रलाई सहयोग गरी ट्रस्टी सदस्य बन्ने क्रममा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले ५ हजार डलरको चेक नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंलाई हस्तान्तरण गरेका थिए। सोही अवसरमा एनआरएनए एनसीसी पूर्व अध्यक्ष सुनिल शाहले नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ ५ सय डलरको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा कोलोराडो खबर डटकमलाई सुरुदेखि नै विशेष सम्वाददाताको रूपमा सहयोग पुर्याएको भन्दै पत्रकार नातिबाबु भट्टलाई समारोहका प्रमुख अतिथि न्यान्सी म्याकनालीबाट प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
एनआरएनए कोलोराडो च्याप्टरका निवर्तमान सचिव शंकर गुरुङद्वारा सञ्चालित कार्यक्रमको अन्तमा समारोहका सभापति तथा कोलोराडो खबर डटकमका संस्थापक बासुदेव खनालले कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिने तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा कोलोराडो खबर डटकमलाई संस्थागत रूपमा विकास गर्दै लैजान सबैको साथ, सहयोग र सुझाव पाइरहने विश्वास व्यक्त गरेका थिए।