काठमाडौँ । भारतको केआईआईटीमा ‘शंकास्पद मृत्यु’ भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ।
आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी लम्सालको शव मंगलबार पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको थियो। बुधबार राति उनको पार्थिव शरीरलाई विमानमार्फत ओडिसाको भुवनेश्वरबाट दिल्ली हुँदै गोरखपुर ल्याइएको थियो। त्यसपछि एम्बुलेन्स मार्फत बेलहिया नाका हुँदै भैरहवा ल्याइएको र मध्यरातमै स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको छ।
केआईआईटी प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ । विद्यार्थीहरूले यसलाई शंकास्पद मृत्युको रुपमा लिएका छन्। विद्यार्थीहरूको विरोध प्रदर्शनमा कलेज प्रशासनले गरेको बल प्रयोगले यस घटनालाई अझ रहस्यमय बनाएको छ।