सैनिक मञ्च टुँडिखेलमा सेनाले यसरी मनाउँदैछ सेना दिवस

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति छन् ।

राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ । स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ ।

सेना दिवसका अवसरमा आयोजित पृतना समन्वय बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिकापनमा जोड दिए ।

सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ । सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्वसेना यहाँ आउँदै छन् ।
संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि महत्वपूर्ण कार्य जिम्मेवारी सुम्पेको छ । सेना देश र जनताप्रतिको त्यो जिम्मेवारी तथा कर्तव्यलाई पूरा गर्न इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गरी आएको छ ।

सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरु भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको सेनाले आफूलाई नागरिकका बीचमा विश्वासिलो सङ्गठनका रुपमा उभ्याएको छ ।

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको थियो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेन अफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र तथा एकताको भावना उच्च संस्कार मानिन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशी चरित्रको सैनिक सङ्गठनमा चार जात, छत्तिस वर्णको फूलबारी जस्तै छ । पछिल्लो समय सेनामा महिला सहभागिता पनि उल्लेखनीय रूपमा छ ।





Comments

comments

129379