नवजात शिशुको मृत्यु भएपछि फिलिपिनो महिला पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २५ फेब्रुअरी। हङकङको शाम सेङ क्षेत्रमा एक नवजात शिशुको मृत्यु भएको घटनामा एक फिलिपिनो महिलालाई प्रहरीले पक्राउ गरेको छ। डिज्नील्याण्डमा कार्यरत ती महिलालाई आफू गर्भवती भएको थाहा नभएको र शौचालयमा बच्चा जन्माएको बताइएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो करिब ३ बजे शाम सेङस्थित लिडो गार्डेनमा एक बेहोस शिशु फेला परेको रिपोर्ट प्राप्त भएको थियो। घटनास्थलमा पुगेका प्यारामेडिक्सले २ दिने शिशुको मृत्यु भइसकेको पुष्टि गरे।

स्रोतका अनुसार पक्राउ परेकी महिला हङकङ आईडी होल्डर हुन् र डिज्नील्याण्डमा काम गर्छिन्। उनी आफ्नो ससुरा, सासू, पति र ११ वर्षीय छोरासँग शाम सेङमा बस्छिन्।

फेब्रुअरी २२ को राति ड्युटी सकेर फर्किने क्रममा उनलाई एक्कासि पेट दुख्न थालेको र डिज्नील्याण्ड नजिकैको सार्वजनिक शौचालयमा बच्चा जन्माएको बताइएको छ। त्यसपछि उनले परिवारलाई थाहै नदिई नवजात शिशुलाई झोलामा राखेर घर ल्याएकी थिइन्।

सोमबार बिहानसम्म बच्चा सामान्य देखिएको थियो। तर बिहान बच्चाले प्रतिक्रिया नदिएपछि उनले दिउँसो १ बजेतिर सासूलाई फोन र म्यासेज गरी माफी मागेकी थिइन्।

सासू काम सकेर करिब ४ बजे घर फर्किंदा बेहोस अवस्थामा नवजात शिशु फेला पारेकी थिइन्। उनले तत्काल प्रहरीमा खबर गरेकी थिइन्। तर प्यारामेडिक्स पुग्दा शिशुको मृत्यु भइसकेको घोषणा गरियो।

प्रहरीले ३० वर्षीया फिलिपिनो महिलालाई बाल हेलचेक्र्याईंको आरोपमा पक्राउ गरिएको जनाएको छ। अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।





Comments

comments

129385