काठमाडौं, विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियानलुइजी बुफोन आज नेपाल आइपुगेका छन्। केपी ओली कप फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा प्रमुख अतिथिको रूपमा सहभागी हुन उनी नेपाल आएका हुन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सञ्चालित तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि दशरथ रंगशालामा हुँदैछ।
बुफोन सन् २००६ मा इटालीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनको उत्कृष्ट गोलकिपिङ कौशलले इटालीलाई फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा ५-३ गोलले विजयी बनाएको थियो। ४७ वर्षीय बुफोनले आफ्नो लामो करियरमा पार्मा, युभेन्टस र पेरिस सेन्ट जर्मेन जस्ता विश्वप्रसिद्ध क्लबहरूबाट खेलेका छन्।
नेपाल बसाइका क्रममा बुफोनले युवा फुटबल खेलाडीहरूसँग अन्तरक्रिया गर्ने, फुटबल प्रशिक्षकहरूलाई प्रशिक्षण दिने र नेपाली फुटबलको विकासका लागि सहयोग गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
बुफोनको नेपाल भ्रमणले नेपाली फुटबलको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन र नेपाली फुटबलको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी