काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बोहराको सडक दुर्घटनामा असामयिक निधन भएको छ ।
आज दिउँसो करिब २ बजेतिर धनगढी–अत्तरिया ६ लेन सडकमा गोदावरी नगरपालिका-२ स्थित विद्युत् कार्यालय नजिकै स्कुटर अचानक नियन्त्रण गुमाएर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका ३४ वर्षीय सई बोहरालाई तत्काल स्थानीयको सहयोगमा सेती प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनको मृत्यु भएको पुष्टि गरेका छन्।
बझाङको मष्टा गाउँपालिका –७ निवासी बोहरा गोदावरी नगरपालिका – ५ गेटामा बस्दै आएका थिए।