हङकङमा दिनदहाडै छुरी प्रहार गरी हत्या..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ मार्च। हङकङको फो टान क्षेत्रमा एक ५२ वर्षीय पुरुषको छुरी प्रहार गरी हत्या गरिएको छ। आज दिउँसो करिब ५ बजे, टाम थर भएका व्यक्ति सुई वो रोड नजिकै लाई वो लीबाट हिँडिरहेका बेला दुई जना व्यक्तिले अचानक छुरी प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका टामलाई प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो। उनको साँझ ६:०८ बजे मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार काला ज्याकेट, टोपी र पन्जा लगाएका २० वर्ष उमेर समूहका दुई आरोपीहरू ट्याक्सी चढेर फरार भएका छन्।

मृतक टाम बेरोजगार थिए र उनको त्रियाड (चिनियाँ माफिया) सँग सम्बन्ध रहेको बताइएको छ। घटनास्थलमा ठूलो मात्रामा रगत र मृतकको चप्पल फेला परेको छ।

घटनाका बेला एउटा टेस्ला इलेक्ट्रिक कार त्यहाँबाट गुड्दै गर्दा चालकले घटना देखेर आत्तिएर गाडी नियन्त्रण गुमाउँदा रेलिङमा ठोक्किएको थियो। तर चालकलाई भने केही भएन। प्रहरीले हत्याको कारण र आरोपीहरूको खोजी कार्य जारी राखेको छ।





Comments

comments

129796