सन्तोष थलङ –
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति- युके/नेपाल (BGNCCC-UK/Nepal) ले ब्रिटिश गोर्खाहरूका वंशजको नेपाली नागरिकता निरन्तरताका लागि माननीय सांसदहरूमार्फत प्रतिनिधि सभामा नागरिकता ऐन संशोधन विधेयक गत फागुन ८ गते का दिन दर्ता गराएको थियो। अब यो विधेयक प्रतिनिधि सभा, राज्य व्यवस्था समिति र राष्ट्रिय सभामा छलफल भई बहुमत सांसदहरूले पारित गर्नुपर्ने हुन्छ।
तसर्थ, ब्रिटिश गोर्खाहरुका बंशजको नेपाली नागरिकता संशोधन विधेयकका विषयमा दुवै सदनका माननीय सांसदहरु जानकार एवं सकारात्मक हुन अत्यावश्यक छ। यसका लागि BGNCCC का प्रमुख सल्लाहकार कृष्ण बहादुर राई, BGNCCC नेपालका सह-संयोजक फुर्वा गर्ज शेर्पा तथा कानूनी सल्लाहकार अधिवक्ता योगिता राईको प्रतिनिधि मण्डलले संशोधन विधेयकको व्यहोरा, संशोधन हुनुपर्ने कारणहरु, BGNCCC को अवधारणा पत्रसहितको पत्र दुवै सदनका सांसदहरुलाई उपलब्ध गराएर विश्वस्त पार्ने काम गरिरहनु भएको छ।
त्यसका अलावा राजनीतिक पार्टीका शीर्षस्थ नेताहरुलाई भेटेर समग्र ब्रिटिश गोर्खाका वंशजको नेपाली नागरिकता निरन्तरता सम्बन्धी ऐन साथै संविधान संशोधनका विषयमा पार्टीको सकारात्मक धारणा निर्माण गराउन पहल गरिरहनु भएको छ।
आवश्यकता अनुसार निकट भविष्यमा उपलब्ध माननीय सांसदहरुलाई आमन्त्रण गरी संविधानविद्/कानूनविद्हरुद्वारा उक्त संशोधन विधेयकका बारेमा प्रष्ट गर्ने कार्यक्रम सम्पन्न गर्ने समेत योजना रहेको छ।
ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुको नेपाली राष्ट्रियता अविच्छिन्न राख्ने यो अति महत्वपूर्ण अवसर भएकाले सम्पूर्ण ब्रिटिश गोर्खा समुदायले आफ्ना संघ संस्था, क्षेत्र, आस्था सबै कुरा भन्दा माथि उठेर साझा मुद्दामा केन्द्रित हुन अत्यावश्यक छ। यो अभियान सफल हुँदा ब्रिटिश गोर्खा समुदाय सबैले नागरिकता निरन्तरताको अधिकार प्राप्त गर्नेछन्। अभियान असफल हुँदा त्यसको परिणाम सम्पूर्ण गोर्खा समुदायले नै व्यहोर्नु पर्नेछ।
अतः बेलायत वा नेपालमा रहेका ब्रिटिश गोर्खा दाजुभाइ, दिदीबहिनी तथा भान्जाभान्जीहरूले नेपालका आ-आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने माननीय सांसदहरूलाई कम्तीमा तत्काल फोन गरेर ब्रिटिश गोर्खाको अहिले दर्ता भएको नागरिकता ऐन संशोधन विधेयक पारित गराउन पहल गर्न बाध्य बनाउने गरी अनुरोध गर्न अत्यावश्यक छ।
सम्बन्धित क्षेत्रका सांसदहरुलाई सम्पर्क एवं विश्वस्त गरेपश्चात् सोको जानकारी बीजीएनसीसीसी-युके/नेपाललाई वा सिधै नेपालमा अभियानरत प्रतिनिधि मण्डललाई उपलब्ध गराउन अनुरोध गरिएको छ। किनभने सदनमा विधेयक पारित गर्नका लागि मतको पूर्व आकलन गरी आवश्यक रणनीति बनाउन सकियोस्।
जय गोर्खा !!!