माल्टा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानीको वातावरण बनाएपनि अझै गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो । माल्टामा जारी १६ औं युरोप क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भारत र चीनको उदाहरण दिंदै लगानीका लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताउनुभयो ।
“अहिले सरकारको प्राथमिकतामा नीतिगत सुधार गर्ने छ । हाम्रा कानुन धेरै बोझिला छन् । त्यसैले मिलाउन पर्ने धेरै छ । प्रणालीगत समस्यालाई सुधार्न भनेरै अध्यादेश ल्याइएको हो,” उहाँले भन्नुभयो ।
उहाँले अब कुनैपनि फाइल अनुसारको काम गर्नलाई ७ दिन भन्दा धेरै लगाउन नपाइने र विदेशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सकिने बताउनुभयो । अब लाइनबाट नभई अनलाइनबाट काम हुने भन्दै उहाँले सम्मेलनमा उठेका जिज्ञासालाई प्रधानमन्त्री समक्ष पुर्याएर समस्या समाधान पहल गर्ने बताउनुभयो ।
एनआरएनए अध्यक्ष बद्री केसीले लगानी गर्दा विदेशीलाई जस्तो न्यूनतम र उच्चतम सीमा तोक्न जरुरी नरहेको बताउनुभयो । “नेपालमा लगानी गर्न चाहने नेपाली प्रशस्त छन् तर नेपाल लगानी सम्मेलन गर्ने बेला एनआरएनएलाई बिर्सिन्छ । एनआरएन कानुनलाई अगाडि ल्याइदिन पर्यो, आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको कानुन ल्याउन पर्यो,” उहाँले भन्नुभयो ।
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले युरोपमा महिला आउने क्रम बढेकाले धेरै सचेतता अपनाउन पर्ने बताउनुभयो । उहाँले महिलाहरूको मानसिक स्वास्थ्य समस्या बढेको र युरोपमा आउँदा पहिला आफ्नो काम र काम गर्ने कम्पनीबारे बुझ्न जरुरी रहेको बताउनुभयो ।
सम्मेलनमा विभिन्न देशका व्यवसायी तथा एनआरएनएका पदाधिकारीहरूले लगानीका लागि स्पष्ट कानुन र संविधानले तोके अनुसारको नागरिकताको माग गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।