राजावादी प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

काठमाडौं, नेपाल सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस सम्बन्धी निर्णयहरू सार्वजनिक गरेका हुन्।

विशेष गरी तीनकुनेमा भएको प्रदर्शनका क्रममा दुई जनाको दुखद् निधन र केही व्यक्तिहरू घाइते भएको घटनाप्रति सरकारले गम्भीर चासो व्यक्त गरेको छ। मन्त्रिपरिषद्ले घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

गृह मन्त्रालयलाई तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरियोस् भन्नेतर्फ विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो। सरकारले शान्तिपूर्ण तरिकाले आफ्ना विचारहरू राख्न पाउने संवैधानिक अधिकारको सम्मान गर्दै, कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नहुन नागरिकहरूलाई आग्रह गरेको छ।





Comments

comments

130155