मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम—कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ।
पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन्।
राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ।
सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए । “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ ”, उनले भने,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन्।”
हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गरे।