काठमाडौं, तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई नियन्त्रणमा लिएको छ। नवराज सुवेदी र दुर्गा प्रसाईको नेतृत्वमा आयोजित शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक बनेको थियो।
प्रदर्शनकारीहरूले संघीय संसद भवन वरिपरिको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए। साथै सवारी साधनको प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास समेत गरेको प्रहरीको भनाइ छ।
आक्रमणमा परी केही सुरक्षाकर्मीहरू घाइते भएका छन्। प्रदर्शनकारीहरूले निजी सम्पत्ति, संचार गृह, राजनीतिक दलका कार्यालय, नेताका निवास, अस्पताल र प्रहरी कार्यालयहरूमा समेत क्षति पुर्याएका छन्।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा सर्लाहीका २२ वर्षीय अमित शाह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोकी ३० वर्षीया अनिता कुँवर र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन्।
काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप लिई पक्राउ परेकाहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई राज्य विरुद्धको कसूर र अपराधिक उपद्रवको आरोप लागेको छ।