मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन

सुन्दरबजार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँमा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमको उद्घाटन गरेका छन् । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो कार्यक्रमले घलेगाउँको २५ वर्षे पर्यटन यात्रालाई स्मरण गर्दै गाउँ पर्यटनको महत्त्व र योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ।

सो अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले घलेगाउँको यात्रा दुःख, विकटता र अभावबाट सुरू भएर अहिलेको स्मार्ट भिलेजको यात्रासम्म आइपुगेको बताए । उनले परिवर्तनको मूल रहस्य समुदायको एकता, नेताहरूको अठोट र जनसहभागिता भएको उल्लेख गरे।

घलेगाउँलाई विश्वले चिनेको ठाउँको रूपमा प्रस्तुत गर्दै यसको उदाहरण देशभर फैलाउन सकिने उनको विश्वास छ । मन्त्री गुरुङले भने, ‘घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हो । यहाँबाट सुरू भएको होमस्टे अभ्यास अहिले देशका विभिन्न जिल्लाहरूमा फैलिएको छ । लमजुङ जिल्ला आज ७७ वटै जिल्लामा गाउँ पर्यटन फैलाउने नेतृत्त्दायी जिल्लाका रूपमा चिनिएको छ।’

गण्डकी अञ्चलमा मात्रै ३०६ वटा होमस्टे दर्ता भएको उल्लेख गर्दै मन्त्री गुरुङले तीमध्ये धेरैजसो सफलतापूर्वक सञ्चालनमा रहेको जानकारी दिए । उनले ग्रामीण पर्यटनलाई मजबुत बनाउने हो भने नेपाललाई पर्यटनको केन्द्रविन्दु बनाउने सम्भावना रहेको बताए।

नेपालको हरेक गाउँलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा परिभाषित गर्दै विविधता, प्रकृति र संस्कृतिको यो सुन्दर मिश्रणले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने मन्त्री गुरुङले विश्वास व्यक्त गरे । उनले भने, ‘भाग्य र भविष्य थाहा हुँदैन, तर कसैको अठोट, नीति र कार्यक्रमले नै भाग्य कोर्न सक्छ।’

यस अवसरमा स्थानीय बासिन्दाहरू, होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको आगामी दिनहरूमा विविध सांस्कृतिक कार्यक्रम, पर्यटन छलफल, स्थानीय उत्पादनको प्रदर्शनी र अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन हुने तयारी रहेको आयोजकले जानकारी दिएका छन्।





Comments

comments

130492