नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा मानसिक स्वास्थ्य सचेतना तथा आप्रवासी कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।
एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा वेस्टमिन्स्टरस्थित ड्रुरी प्लाजा होटलमा अध्यागमन कानुन ज्ञाता वकिल बासु फुँयालको प्रमुख आतिथ्यता तथा एरोरा हेल्थ एन्ड रिकभरीका सोनम खनाल र जयराम लामिछानेको विशेष उपस्थितिमा शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन भएको हो।
एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्तमान परिस्थितिमा आप्रवासी कानुनको जानकारी तथा राष्ट्रपति ट्रम्पले जारी गरेका कार्यकारी आदेश र त्यसले नेपालीभाषी समुदायमा पार्न सक्ने प्रभावका बारेमा वकिल फुँयालले सहभागीबीच विस्तृत अन्तरक्रिया गरेका थिए।
कार्यक्रममा सहभागीहरूले टीपीएस, विद्यार्थी भिसा लगायत विभिन्न भिसा स्टाटसमा रहेकाहरूलाई वर्तमान परिस्थितिले पारेको प्रभाव र अबको प्रक्रियाको बारेमा छलफल तथा जिज्ञासा राखेका थिए। समारोहमा उपस्थित सहभागीहरूले फुँयाल समक्ष झण्डै ३ दर्जन भन्दा बढी व्यक्तिगत तथा सामूहिक जिज्ञासाहरू राखेका थिए।
कार्यक्रममा कोलोराडोमा सक्रिय सबै संघसंस्थाका पदाधिकारी, गणमान्य, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपालीभाषी बाआमा दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। एनआरएन कोलोराडो च्याप्टरका बोर्ड सदस्य अमित अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने महिला सचिव संगीता लामा लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा कार्यक्रम सञ्चालनमा विशेष सहयोग पुर्याउने सबैलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष पौडेलले कार्यक्रममा उपस्थित लगायत यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।