कोलोराडोमा आयोजित नयाँ वर्ष शुभकामना सांस्कृतिक साँझमा बिमल डाँगी

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपालीभाषी समुदायले लोकगायक बिमल डाँगीको उपस्थितिमा एक भव्य शुभकामना सांस्कृतिक साँझ कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गरेका छन्।

नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालले आयोजना गरेको शुभकामना साँझमा सहभागी भई उनीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन्। कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने नेपालीभाषीहरुको उपस्थिति रहेको थियो। शनिबार साँझ यहाँस्थित वेस्टमिनिस्टर सहरमा सम्पन्न भएको कार्यक्रममा सहभागी हुन कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यु चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेषभूषा झल्कने पहिरन लगाएर आएका थिए।

शुभकामना साँझको पहिलो सत्र कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. विजयराज शर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बगालेले उपस्थित सबैलाई स्वागत गरेका थिए।

त्यसैगरी सोही कार्यक्रममा कोलोराडोमा नेपालीभाषी समुदायको सबैभन्दा जेठो संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको इतिहास संगठित गरिएको ‘रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको विकास र विरासत’ नामक पुस्तक विमोचन गरिएको थियो।

विमोचित पुस्तक साहित्यकार पदम विश्वकर्माको प्रधान सम्पादकत्वमा अर्जुन बगाले, रमेश दाहाल, रोहिणी शर्मा, निलम श्रेष्ठ, टीका पौडेल, विनोद त्रिपाठी र राजु सिटौला सम्पादक समूह र नारायण श्रेष्ठ, डा. विजयराज शर्मा र नवीन दत्त सल्लाहकार रहेको प्रकाशन समितिले प्रकाशन गरेको थियो।

सोही पुस्तकको विमोचन डा. विजयराज शर्मा, कानुनविद् वासु फुलारा, पदम विश्वकर्मा, रोहिणी शर्मा, अर्जुन बगाले, आकृति राई अधिकारी र राजु सिटौलाबाट संयुक्त रूपमा गरिएको थियो।

यसैगरी सोही कार्यक्रममा कोलोराडोमा रही विगत लामो समयदेखि निरन्तर नेपालीभाषी समुदायको विकासका लागि योगदान तथा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाललाई उल्लेखनीय योगदान पुर्‍याउँदै आएका ३ जना समाजसेवीहरूलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरूमा पुस्तक प्रकाशन समितिका संयोजक तथा अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका पूर्व अध्यक्ष तथा समाजसेवी टिका पौडेल र पत्रकार नातिबाबु भट्ट रहेका छन्।

कार्यक्रमको दोस्रो चरणमा सांगीतिक कार्यक्रम आयोजना गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो। स्थानीय बाल कलाकारहरूले लोक, आधुनिक, देशभक्ति लगायतका गीतमा कम्मर मर्काई मर्काई नाचेको सुन्दर नृत्य हेरिरहँदा आफूलाई नेपाली घर आँगनमै भएको महसुस हुन्थ्यो।
कार्यक्रमका विशेष अतिथि तथा लोकगायक बिमल डाँगीले चर्चित आधा दर्जनभन्दा बढी गीत गाएर दर्शकलाई नचाएका थिए। त्यसैगरी कार्यक्रममा गायिका सञ्जना पाण्डेलगायतका कलाकारहरूले पनि गीत गाएर श्रोता तथा दर्शकको मन जित्न सफल भएका थिए। कार्यक्रममा सहभागी कलाकारहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

अनेसास केन्द्रीय कार्यसमितिकी कोषाध्यक्ष तारा अधिकारी र संस्थाका महासचिव तेजप्रसाद ढकालले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका पदाधिकारी, गणमान्य, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपालीभाषी बाआमा दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा संस्थाका उपाध्यक्ष हरि गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130880