बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान..

दाङ । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुईटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन्।

कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उनले बताए । चौधरीले पोहोर मात्रै दुई लाखको घाँसको बीउ बिक्री गरेको जानकारी दिए । यो वर्ष पनि प्रसस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरिन्।

‘बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ’ उनले भने । उनका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्।

घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पालेका छन् । उनले भने, ‘१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन्।’

घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिए । ‘वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्’, उनले भने । गएको वर्ष ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यो वर्ष एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताए।

घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए।

घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उनले जानकारी दिए।





Comments

comments

130984