अमेरिकामा चार जना नेपाली मृत फेला..

भर्जिनिया । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा एक दम्पती र उनीहरूका दुई सन्तानको मृत्युले नेपाली समुदायमा शोकको लहर फैलिएको छ। बिहीबार राति एक घरमा चार जना नेपाली नागरिक मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र उनीहरूका २ वर्षीय छोरा तथा ८ वर्षीया छोरी रहेका छन्। घटनास्थलमा एउटा बन्दुक फेला परेको र प्रारम्भिक अनुसन्धानले यो घटना हत्यापछि आत्महत्याको रूपमा देखिएको प्रहरीले जनाएको छ।

स्थानीय समयअनुसार राति १०:४० बजे घरधनीको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घरधनीले भाडावालहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतक बालिका मानेसास पार्क सिटी स्कुलकी विद्यार्थी थिइन्। विद्यालयले विशेष मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ। यो घटनाले स्थानीय नेपाली समुदाय र अमेरिकी समाजलाई स्तब्ध बनाएको छ।

यो घटनाले त्यही क्षेत्रमा गत वर्ष बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घटनाको सम्झना गराएको छ। दुवै घटनास्थल बीचको दूरी मात्र तीन मिनेटको पैदल दूरीमा रहेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र यसलाई पारिवारिक विवादसँग जोडेर हेरिरहेको जनाएको छ। मृतकहरू करिब ६ महिना अघि मात्र यस क्षेत्रमा बसाइँ सरेका थिए।





Comments

comments

131575