नेपाल-चीन सिमानामा विनाशकारी बाढी: मितेरी पुल बगायो, १८ जना बेपत्ता, ९ को उद्धार..

काठमाडौं । चीनबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसहित दर्जनौँ गाडी बगाएको छ । बाढीमा परी १८ जना बेपत्ता भएका छन् जसमध्ये ९ नेपाली, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्।

सोमबार राति चीनतर्फ अबिरल वर्षाका कारण आएको भीषण बाढीले रसुवाको ल्हेन्दे खोलामा तान्डव मच्चाएको छ। बाढीले नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ, जसले गर्दा दुई देशबीचको आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले मितेरी पुल बगाएको पुष्टि गरे। “राति करिब ३ बजे आएको बाढीले पुललाई पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ, जसले गर्दा नेपाल-चीन सीमा क्षेत्रमा आवतजावत अवरुद्ध भएको छ,” उनले भने।

बाढीले भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीहरू बगाएको प्रारम्भिक रिपोर्टले देखाएको छ। यसमा सुख्खा बन्दरगाहका ७ वटा इलेक्ट्रिक गाडी समेत बगेका छन्। बाढीले रसुवागढी हाइड्रोपावरको डाममा पनि ठूलो क्षति पुर्‍याएको छ।

भन्सार क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा खटिएका उद्धारकर्मीहरू पनि बाढीको चपेटामा परेका छन्। इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएका प्र.स.नि. लालबहादुर श्रेष्ठ, प्र.ज. मुन्ना ठाकुर र प्र.ज. लोकेन्द्र बोहरा अझै सम्पर्कविहीन रहेका छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले हालसम्म ९ जनाको सफल उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। “एक जना प्रहरीले नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन्, अन्य बेपत्ताको खोजी तीव्र गतिमा चलिरहेको छ,” उनले थपे।

उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको कमाण्डमा २० जनाको प्रहरी टोलीसहित विभिन्न प्रहरी इकाईबाट गरी जम्मा ९४ जनाको टोली परिचालित गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत पनि उद्धार कार्य भइरहेको छ।

बाढीका कारण पासाङल्हामु सडक खण्डमा पनि क्षति पुगेको छ। धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएकाले उद्धार कार्यमा थप चुनौती थपिएको छ।

यो प्राकृतिक विपत्तिले नेपाल-चीन व्यापारिक सम्बन्धमा समेत गम्भीर असर पार्ने देखिएको छ। विशेषगरी सीमावर्ती क्षेत्रमा व्यापार गर्ने व्यापारीहरूलाई ठूलो आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ।

उद्धार र राहत कार्यलाई तीव्र पार्न स्थानीय प्रशासनले सबै सरकारी निकायहरूसँग समन्वय गरिरहेको छ। थप जानकारी आउने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।





Comments

comments

131953