काठमाडौं। इराकको पूर्वी वासित प्रान्तमा रहेको एक नयाँ शपिङ मलमा बुधबार राति भएको भीषण आगलागीमा परी ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। मृतकहरूमा महिला तथा बालबालिका समेत रहेका छन्।
इराकको गृह मन्त्रालयका अनुसार कुट शहरमा भएको यस आगलागीबाट ६१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृत्युको मुख्य कारण श्वासप्रश्वासमा समस्या रहेको बताइएको छ। मृतकहरूमध्ये १४ जनाको शरीर बुझ्न नसकिने गरी जलेको र अझै पहिचान हुन नसकेको अधिकारीहरूले जनाएका छन्।
नागरिक सुरक्षा टोलीले भवनभित्र फसेका ४५ भन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएको छ। जम्मा एक हप्ता अघि मात्र उद्घाटन गरिएको यो मल पाँच तले भवनमा थियो, जहाँ रेस्टुरेन्ट र सुपरमार्केट पनि रहेका थिए।
प्रान्तीय गभर्नर मोहम्मद अल-मय्येहले तीन दिनको शोक घोषणा गरेका छन्। उनले भवन मालिक र मल सञ्चालक विरुद्ध कानुनी कारबाही अघि बढाइएको जानकारी दिए। प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले गृहमन्त्रीलाई घटनास्थलमा गई अनुसन्धान गर्न र यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
प्रारम्भिक अनुसन्धानको नतिजा ४८ घण्टाभित्र सार्वजनिक गरिने अधिकारीहरूले जनाएका छन्। (एजेन्सीहरुको सहयोगमा)