घर खर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो) ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्ष अघिसम्म जङ्गलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए ।

‘बर्खेबाली लगाएर फुर्सदिला बनेका गाउँलेहरू साउन र भदौ महिनामा दैनिक जसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्’, उनले भने- ‘गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पुर्‍याउँछन् ।’ दोवामा निहुरोबाट वार्षिक रु २५ देखि ३० लाख नगद भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताए ।

दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताइन् । ‘कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ’, उनले भनिन्, ‘फुर्सदको समय सदुपयोगका साथै घर खर्च चलाउने आम्दानी जुटाएका छौँ ।’

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् । बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताए ।

‘बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ’, उनले भने, ‘गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो । यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरो आएको छ । माग धान्न सकिएको छैन ।’

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रूपमा उम्रन्छ । निहुरोको मुना छिप्पिएपछि सोतर हुन्छ । मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रूपमा प्रयोग गर्न सकिन्छ । यो एक जैविक तरकारी समेत हो । निहुरो टुसा पलाएको चार/पाँच दिनभित्र ठुलो झ्याङ भएको निउरो बन्छ । निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोसिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताए ।

स्वास्थ्यकर्मीहरूका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ । रासस





Comments

comments

132260