याक्थुम्ङ् लिम्बूहरूले अमेरिकाको क्यालिफोर्नियामा भव्य रूपले मनाए सिसेक्पा तङ्नाम..

स्थानीय प्रतिनिधि, अमेरिका – क्यालिफोर्नियामा बसोबास गर्ने नेपालका रैथाने भूमिपुत्र याक्थुम्ङ् लिम्बूहरूले उनीहरूकै सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा आफ्नो समुदायको मौलिक चाड सिसेक्पा तङ्नाम् यही जुलाई २७ तारिखका दिन धुमधामले मनाएका छन्।

प्राचीन समुदायको धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये सिसेक्पा तङ्नामले उनीहरुको जीवनको रहनसहनमा विशेष महत्व राख्दछ। यस पर्व मनाउँदा बिहान सबेरै उठेर बनपाखा गई अररेको काँडा, हरकटो, सिस्नु र काउलोको पात खोजी घरमा ल्याएर बाबियोको डोरीमा बाँधेर लामो माला जस्तो बनाई घरको मूल ढोकाबाट सुरु गरी पुरै घर बेरी फन्को मारी बाँधीदिने गरिन्छ। यसो गर्दा जीवन जिउने क्रममा आइपर्ने दु:ख, कष्ट, रोग, अनिकाल सजिलै टरेर जाने र तत्कालै राम्रो समय अर्थात् सहकालको सुरुवात हुने जनविश्वास यो समुदायमा रहेको पाइन्छ।

विश्वमै नाम चलेको सुन्दर शहर सन फ्रान्सिस्को आडैमा रहेको बर्कली मारिनामा लिम्बू याक्थुङ्हरु भेला भई विभिन्न खेल खेल्नुको साथसाथै परम्परागत केलाङ् नाँच, हाक्पारे साम्लो गाउँदै हात समाउँदै ठूलो घेरा बनाई धान नाँच समेत नाचिएको थियो।

सामाजिक कार्यक्रमको उद्घाटन वयोवृद्ध तुम्याहाङ सन्तोष कुरुङ्बाङ, संस्थापक अध्यक्ष रोशन लिबाङ् र समाजसेवी सरु साँवाले संयुक्त रुपमा थानमा दियो बालेर गर्नुभएको थियो। स्वागत मन्तव्य बमु सुहाङ्, कार्यक्रमको औचित्य शुरेन्द्र फोम्बो, खेलकुद संचालन (प्रतिभा सुब्बा, सोमी लिम्बु, भिम लिम्बु, सुमेर सुब्बा, कमान बनेम), स्वागत नृत्य उन्नती र अन्वेशा, रजिस्ट्रेसन बुथ (क्रिस्टी, रोशनी, तेज, सिर्जना), कार्यक्रमको संचालन टंक फोम्बो र नविन सुब्बाले गर्नुभएको थियो।

कार्यक्रममा युनाइटेड किराँत राई अर्गनाइजेसन क्यालिफोर्नियाका अध्यक्ष टिकाराम राई, पहिचानवादी मोर्चाका क्यालिफोर्निया संयोजक डेकेन्द्र मास्के, मगर समाजका बिनोद मगर, क्यालिफोर्निया शेर्पा एसोसिएसनका आङ छिरिङ शेर्पा तथा समाजका अगुवाहरु देब किराँत, सुर्य कार्की, राम राई, जोर राई, नुरेन बराल, कविन्द्र सुनुवार लगायतको उपस्थिति रहेको यस भव्य कार्यक्रममा संस्थाका अध्यक्ष श्री अतित सुब्बाले उपस्थित कुल कुटुम्ब, पर पाहुना तथा इष्टमित्रहरूलाई हार्दिक धन्यवाद दिँदै, कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सहयोगी हातहरुलाई विशेष धन्यवाद भन्दै अर्को वर्ष पुनः भेट्ने बाचा गर्दै यस वर्षको कार्यक्रमको विधिवत् समापन गर्नुभएको थियो।





Comments

comments

132292