हङकङको मोङ कोक फ्ल्याटमा आगलागी: ६ वर्षीय बालकसहित एकै परिवारका ३ सदस्यको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ अगस्त। बिहीबार मध्यरातमा हङकङको मोङ कोक जिल्लामा भएको आगलागीबाट उद्धार गरिएका ६ वर्षीय बालकसहित एकै परिवारका ३ सदस्यको अस्पतालमा मृत्यु भएको छ।

दमकलकर्मीहरूले साई यी स्ट्रिटस्थित आर्गाइल स्ट्रिट नजिकै एक पुरानो आवासीय भवनको फ्ल्याटमा राति ११:१० बजेतिर आगलागीको सूचना प्राप्त भएपछि तीनजना – ८० वर्षका एक वृद्ध, ४० वर्षका एक पुरुष र बालकलाई बेहोस अवस्थामा फेला पारेका थिए। ७० वर्षकी एक महिलालाई पनि उद्धार गरिएको थियो तर उनी होसमा थिइन्।

चारै जनालाई तत्काल क्वोङ वाह अस्पताल र याउ मा तेईमा रहेको क्विन एलिजाबेथ अस्पतालमा उपचारका लागि लगिएको थियो। पुरुष र बालकको शुक्रबार बिहानै मृत्यु भयो। महिलाको अवस्थाबारे तत्काल कुनै जानकारी दिइएको छैन।

दमकलकर्मीहरूले ११:४९ बजे आगो नियन्त्रणमा लिएका थिए। सन् १९६३ मा निर्माण गरिएको किन वोङ म्यानसनमा रहेको फ्ल्याटमा दुई बिरालोसमेत मृत फेला परेको जनाइएको छ। दर्जनौं मानिसहरूलाई भवनबाट उद्धार गरिएको वा खाली गराइएको थियो।

प्रहरी प्रवक्ताका अनुसार प्रारम्भिक प्रतिवेदनले आगलागी एयर कन्डिसनिङ इकाईका कारण भएको हुन सक्ने संकेत गरेको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।





Comments

comments

132305