रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

रुकुम पश्चिम । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो ।

जिल्लाका चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका तथा सानीभेरी, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा धान खेती हुने गरेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष समयमा वर्षा हुनुका साथै मौसमले साथ दिएकाले समयमै रोपाइँ सकिएको कार्यालयका प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्लामा तीन हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

यहाँ खुमल–४ र ६, राधा–४ सहित अन्य हाइब्रिड जातका धान खेती हुँदै आएको कार्यालय प्रमुख बस्नेतले बताए । यो वर्ष धान खेती हुने सबै खेतीयोग्य जग्गामा रोपाइँ गरिएकाले अघिल्लो आर्थिक वर्षको तुलनामा बढी उत्पादन हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

सबै बाँझो जग्गामा धान खेती हुने हो भने खेतीयोग्य क्षेत्रफलसहित उत्पादनमा समेत वृद्धि हुने बस्नेतको भनाइ छ । खेतीयोग्य सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेकाले सिँचाइ सुविधा विस्तार भएमा उत्पादन पनि बढ्ने उनले बताए ।

धान उत्पादनलाई बढाउन चैते धान खेतीमा जोड दिइएको बताउँदै योजनाअनुसार विस्तार गर्न नसकिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । जिल्लामा गत वर्ष १२ हजार ९५५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समयमै वर्षात् हुनुका साथै धान खेतीमा किरा नदेखिएकाले गत वर्षभन्दा १० देखि १५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

उत्पादन भएकोमध्ये केही चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर बिक्री गरिँदै आइएको कृषि विकास कार्यालयले जनाएको छ । धानसहित खाद्यान्नमा रुकुम पश्चिम आत्मनिर्भर नरहेको कार्यालय प्रमुख बस्नेतले बताए । रासस





Comments

comments

132484