काठमाडौँ, नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।
मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन्।
आइतबार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबीच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आईएमई खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे।
जनमतबाट विजेता चयन गर्ने पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरूको प्रदर्शन, मिडिया कभरेज र खेलाडीको लोकप्रियतालाई विशेष ध्यानमा राखेर गरिएको हो। स्पोर्ट्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ।
मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा निकै खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन्। उनले भनिन्, “स्पोर्ट्स अवार्डमा मनोनित हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरूले मलाई माया गर्नुहुनेछ।”
यसैगरी, विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यसलाई चर्चित बनाउन निरन्तर मिहिनेत गरिरहेको बताए। उनले भने, “स्पोर्ट्स अवार्डमा धेरै वर्ष मञ्चमा उभिएको छु। त्यो समय मेरो भूमिका फरक थियो। मैले सोच्थेँ, कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना आज पूरा भएको छ।”
आइतबारको पत्रकार सम्मेलनमा पूजा, इभाना र हिमाल उपस्थित हुन सकेनन्। पूजा क्रिकेट प्रशिक्षणका लागि भारतमा छिन् भने इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन्।
पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा हुनेछ।
५० प्रतिशत मतभार रहने डिजिटल वालेट आईएमई खल्तीमा भोटिङ आइतबारबाटै सुरु भएको छ। सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमार्फत), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ।
यो विधाका विजेताले पल्सर मोटरबाइक प्राप्त गर्नेछन्। गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन्।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कुल दस विधामा अवार्ड प्रदान गरिनेछ। जसमा पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। पल्सर स्पोर्ट्स अवार्ड २०८१ भदौ २९ गते पोखरामा आयोजना हुँदैछ।
मञ्च र आईएमई खल्तीबीच सम्झौता
नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबीच आइतबार भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आईएमई खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे। सो अवसरमा गौतमले यसपटकको स्पोर्ट्स अवार्ड पोखरामा हुनुका साथै खल्तीसँगको सम्झौता अर्को विशेषता भएको बताए। उनले आईएमई खल्तीले मनोनयनमा परेका तथा विजेता सबै खेलाडी र खेलकर्मीहरूलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी दिए।
यसैगरी, मञ्चका अध्यक्ष अधिकारीले यो सम्झौताले स्पोर्ट्स अवार्डलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “हामी आईएमई खल्ती परिवारप्रति कृतज्ञ छौँ, यो सम्झौताले स्पोर्ट्स अवार्डलाई नयाँ उचाइमा पुर्याउनेछ।”
यसअघि मञ्चले डिजिटल पार्टनरका रूपमा ई–सेवासँग लगातार छ वर्ष सहकार्य गरेको थियो। अध्यक्ष अधिकारीले सो सहकार्यका लागि ई–सेवालाई धन्यवाद पनि दिए।
यस अवार्डका लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७ औँ वर्षदेखि सहकार्य गरिरहेको छ। मञ्चले अवार्ड कार्यक्रमको प्रवद्र्धकका रूपमा पोखरा महानगरपालिकासँग पनि सम्झौता गरिसकेको छ।
पिपल्स च्वाइस २०८१ को मनोनयनमा परेका खेलाडीहरूको उपलब्धि
विजय सिन्जाली (उसु)
– जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक।
– साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कांस्य पदक।
– चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो र जियान्सु विधामा आठौँ स्थान, थाउलु विश्वकपमा स्थान बनाउन सफल।
– एसियन युनिभर्सिटी उसु च्याम्पियनसिपमा सहभागी।
– विगतमा १३ औँ सागमा स्वर्ण र १२ औँ सागमा रजत पदक।
इभाना थापा (टेबलटेनिस)
– दक्षिण एसियाली टेबलटेनिसमा चार पदक (एकलमा तेस्रो, गल्र्स डबल्समा दोस्रो, गल्र्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो)।
– २७ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल।
– ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल।
– एसियन युथ च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी।
– दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु–१९ गल्र्स स्वर्ण)।
– पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत राष्ट्रिय प्रतियोगितामा पदक।
हिमाल सुनारी (भलिबल)
– नवौँ एनभिएल लिग २०८२ मा उपविजेता टोलीका महत्वपूर्ण सदस्य।
– पाँचौँ टाइगर कप भलिबल च्याम्पियनसिपमा उपविजेता टोलीका सदस्य।
– तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण सदस्य, बेस्ट सर्भर।
– नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय, सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडी।
पूजा महतो (क्रिकेट)
– आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटको एसिया छनोटमा च्याम्पियन, यु–१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान।
– विश्वकप छनोटमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन।
– कुवेतविरुद्ध १६५ रनको जितमा ६९ बलमा १७ चौकासहित अविजित १३० रन।
– प्रतियोगितामा सर्वाधिक २७२ रन र बलिङमा १० विकेटसहित दोस्रो स्थान।
– एसिसी महिला यु–१९ एसिया कपमा पाकिस्तानलाई ६ विकेटले हराउँदा उत्कृष्ट प्रदर्शन, नेपाली महिलाले आइसिसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको पहिलो अवसर।
– सिनियर राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन।
रेखा पौडेल (फुटबल)
– एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी।
– युएईको अबुधाबी कन्ट्री क्लबमा डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल।
– साउदी अरेबियाको अल नासरविरुद्ध १–० को जितमा वैकल्पिक खेलाडीका रूपमा निर्णायक गोल।
– साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता (माल्दिभ्सविरुद्ध ५ गोल, श्रीलंकाविरुद्ध २ गोल)।
– साफमा ह्याट्रिक गर्ने दोस्रो महिला खेलाडी।